काफ्ले समाज झापाको प्रथम जिल्ला सम्मेलन शनिबार सम्पन्न, गोपालको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन
Published:
by .झापा । काफ्ले समाज झापा जिल्ला कार्यसमितिको प्रथम जिल्ला सम्मेलन शनिबार झिलझिलेमा सम्पन्न गरिएको छ ।
प्रथम सम्मेलनले सर्वसम्मतरुपमा बिर्तामोडका गोपाल काफ्लेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ भने कमल काफ्लेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ । समाजका केन्द्रीय सदस्यत्रय अर्जुन काफ्ले, नारदमुनी काफ्ले र टंक विकल्प काफ्ले रहेको अध्यक्ष मण्डलले सर्वसम्मतरुपमा नेतृत्व चयन प्रक्रिया सम्पन्न गरेको हो ।
अध्यक्षमा निर्वाचित काफ्ले साझामञ्च डटकमका सम्पादक तथा मनकामना कलेज बिर्तामोडका अध्यापक हुन् । उनी पहिले काफ्ले समाजको पूर्वक्षेत्रीय कार्यसमिति (पूर्वाञ्चल विकास क्षेत्रीय समिति)का सचिव थिए । उनकै पहलमा गतवर्ष जिल्ला तदर्थ समिति गठन गरिएको थियो ।
काफ्ले समाज झापाको नवनिर्वाचित उपाध्यक्षमा शिवसताक्षीका यामनाथ काफ्ले, महिला उपाध्यक्षमा अर्जुनधाराका सिता काफ्ले, सचिवमा शिवसताक्षीका गोविन्द काफ्ले, कोषध्यक्षमा अर्जुनधाराका रमेशकुमार काफ्ले र सहसचिवमा कनकाईका मणि काफ्ले रहेका छन् ।
जिल्ला समितिमा महिला तथा जिल्लका सबै पालिकाहरुबाट प्रतिनिधित्व हुनेगरी समावेशी बनाउने प्रयास गरिएको निवनिर्वाचित अध्यक्ष गोपाल काफ्लेले बताएका छन् । जसअनुसार हेमराज काफ्ले हल्दिबारी, टुम्मनाथ काफ्ले अर्जुनधारा, कमल काफ्ले मेचीनगर, भवानी काफ्ले गौरीगञ्ज, काजीमान काफ्ले भद्रपुर, डम्बरबिक्रम काफ्ले र दुर्गा काफ्ले बिर्तामोडबाट चयन भएका छन् ।
यस्तै जिल्ला कार्यसमिति सदस्यहरुमा होमनाथ काफ्ले र विपिन काफ्ले मेचीनगर, बाशुदेव काफ्ले दमक, प्रकाश काफ्ले कमल, नारायण काफ्ले गौरादह, सुमित्रा काफ्ले अर्जुनधारा, सुनिता काफ्ले बुद्धशान्ति र चन्द्रा काफ्ले भद्रपुर चयन भएका अध्यक्ष मण्डलका सदस्य नारदमुनी काफ्लेले बताए ।
सम्मेलनले लेखा समितिको आवश्यकता महसुस गरी मेचीनगरका कमल काफ्लेको संयोजकत्वमा अर्जुनधाराका चन्द्र काफ्ले र भद्रपुरका राजेन्द्र काफ्लेलाई सदस्यमा चयन गरिएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई काफ्ले समाजका केन्द्रीय सदस्य अर्जुन काफ्लेले बन्धुत्व संरक्षण तथा प्रवर्धनको सपथग्रहण गराएका थिए । नवनिर्वाचित नेतृत्वलाई समाजका पूर्व केन्द्रीय सल्लाहकार, समाजको दीर्घ स्थायित्वका लागि भवन निर्माण गर्न जमिनदान गर्नुहुने गोविन्द काफ्लेले शुभेच्छासहित आशीर्वचन प्रदान गरेका थिए ।
सम्मेलनको सफलताको शुभकामना दिँदै काफ्ले बन्धु कल्याण समाजका केन्द्रीय उपाध्यक्ष गोपालप्रसाद काफ्लेले एउटै वंशवृक्षबाट हुर्किएको काफ्लेहरुको अलगअलग संस्था जन्मिए पनि सबैको सहमतिमा एउटै बनाउनुको विकल्प नरहेको औंल्याए । काफ्ले बन्धु कल्याण समिति र काफ्ले समाज सामाजिक संघ–संस्था दर्ता ऐन २०३४ अन्तरगत दर्ताभएका अलग अलग संस्था भए पनि यिनको काम बन्धुहरुको कल्याणका सामाजिक काम गर्ने भएकाले मिलिजुली काम गरिरहेको उपाध्यक्ष काफ्लेको धारणा थियो ।
तदर्थ समितिका अध्यक्ष गोपाल काफ्लेको अध्यक्षतामा सम्पन्न जिल्ला सम्मेलनमा उपस्थित बन्धुहरुलाई उपाध्यक्ष यामनाथ काफ्ले शाब्दिक स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव गोसवन्द काफ्लेले गरेका थिए ।
सो समारोहमा केन्द्रीय सदस्यत्रय अर्जुन, नारदमुनी र टंक काफ्ले, प्रदेश समितिका अध्यक्ष टिकादत्त, कोषाध्यक्ष दुर्गा, भारतको सिलगढीबाट आमन्त्रित साहित्यकार तथा अग्रज पत्रकार युवराज काफ्लेले समाजको आवश्यकता, महत्व र यसले गरेका कामहरुबारे चर्चा गरेका थिए ।
शनिबार सम्पन्न प्रथम जिल्ला सम्मेलनले तदर्थ समितिका अध्यक्ष गोपाल काफ्लेले प्रस्ताव गरेका रचनात्मक कार्यहरुको प्रशंशा गर्दै सुझावसहित पारित गरेको छ । सबै १५ वटै पालिका सम्मेलन यथाशीघ्र सम्पन्न गरी नेतृत्व चयन गर्ने, आजीवन सदस्यता विस्तार गर्ने, नियमित बैठक तथा कार्यक्रम सञ्चालनका लागि कोष निर्माण गर्ने, हरेक पालिका समितिको आयोजनामा उँधौली र उँभौलीमा गोठधुप गर्नेजस्ता निर्णयहरु भएका छन् ।
सम्मेलनले काफ्ले समाज र काफ्ले बन्धु कल्याण समाजको संयुक्त पहलकदमीमा २०६५ सालमा प्रकाशित वंशावलीमा संशोधन तथा परिमार्जन गर्दै छुट भएका एवम् नयाँ जन्मिएका सन्तानहरु, छोरी बुहारीहरुको समेत नामावली संकलन गरी प्रकाशन समूहमा बुझाउने निर्णय गरिएको सचिव गोविन्द काफ्लेले जनाए ।
यस्तै अर्जुनधारा ६ मा प्राप्त जमिनमा शाण्डिल्य भवन निर्माण गर्ने, काफ्ले समाज झापाको मातहतमा एउटा काफ्ले कल्याणकारी कोषको स्थापना गर्ने र उक्त कोषमा जम्मा भएको रकमको ब्याजबाट गरिब, विपन्न एवम् समस्यमा परेका बन्धुहरु तथा सामाजिक उत्थानमा खर्च गर्ने कार्यक्रम पारित गरिएको अध्यक्ष काफ्ले जनाए ।
हरेक काफ्ले परिवारका सदस्यको मृत्यु हुँदा न्यूनतम २०० रुपैयाँ सरहेको रुपमा जम्मा गर्ने, विभिन्न क्षेत्रमा स्थापित स्वर्गबासी सदस्यहरुको नाममा अक्षयकोष राख्ने अक्षयकोषबाट प्राप्तहुने ब्याजबाट सम्मान तथा पुरस्कारको व्यवस्था मिलाउने पनि निर्णय भएको छ ।
यस्तै ज्येष्ठ नागरिक दिवस अक्टोबर १ तारिकको अवसरमा हरेकवर्ष काफ्ले परिवारका सबैभन्दा वृद्ध एकजना पुरुष र एकजना महिला अभिभावकलाई घरघरमा नै गएर फलफूल, मिठाई, दोसल्ला, नगद आदिको माध्यमबाट सम्मान गर्ने, सन्तान प्रोत्साहन कार्यविधि बनाएर सामुदायिक विद्यालयमा अध्ययन गरी हरेक वर्ष कक्षा १२ मा उत्कृष्ट अंक प्राप्त गर्ने काफ्लेका छोराछोरी मध्ये एक छात्र र एक छात्रालाई नगदसहित पुरस्कृत गर्ने कार्यक्रम पनि पारित भएको छ ।
काफ्ले समाजको उन्नयन एवम् स्थायित्वका लागि रचनात्मक सहयोग गर्ने बन्धुहरु एवम् विभिन्न दाताहरुलाई सम्मान गर्ने, काफ्ले समाजको पालिका समिति, जिल्ला समिति, प्रदेश समिति वा केन्द्रीय समितिमा रहेर काम गर्न इच्छुक बन्धुहरुका लागि आजीवन सदस्यता लिएर मात्र नेतृत्वमा दावी गर्न प्रोत्साहित गरिने कार्यक्र पारित भएको सचिव गोविन्द काफ्लेले जनाएका छन् ।
काफ्ले कल्याणकारी कोष सञ्चालन नीति, ज्येष्ठ नागरिक सम्मान कार्यविधि तथा सन्तान प्रोत्साहन कार्यविधि बनाएर पारित भएपछि यसै वर्षबाट कार्यान्वयनमा लैजाने तयारी गरिएको अध्यक्ष गोपाल काफ्लेले जानकारी दिएका छन् ।
Comments