Sajhamanch Archive

कर्तव्य फाउण्डेशनद्वारा कर्तव्य निर्वाहाको सुरुवातः शारीरिक अपङ्गता भएका गिरी दम्पतीलाई घर हस्तान्तरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

अर्जुनधारा । ‘हाम्रो पनि सुन्दर घर होस् अभियान’ले शारीरिक अपाङ्गता भएका अर्जुनधारा ५ का गिरी दम्पतीलाई आज घर हस्तान्तरण गरेको छ ।

कर्तव्य फाउण्डेशनको ब्यानरमा सुरु गरिएको उक्त अभियान अन्तरगत अर्जुनधारा नगरपालिका वडा नं. ५ नमूना बस्तीका बृद्धबृद्धा तथा अपाङ्गता भएका धर्मराज गिरी र राजकुमारी गिरी दम्पत्तीलाई घरको चावी हस्तान्तरण गरेको हो ।

अपाङ्ग गिरी दम्पतीको लागि बिर्तामोडका सामाजिक अभियन्ता मोहन पोखरेल–टीका पोखरेल दम्पत्तीले पाँच लाख रुपैयाँ लगानी गरी अभियानको पहिलो घर निर्माण गरिदिएका हुन् । उक्त घरको चावी घर निर्माण गर्ने परिवारका तर्फबाट रणमाया पोखरेलले हस्तान्तरण गरेकी हुन् ।

धर्मराज कान सुन्दैनन् भने राजकुमारी शारीरिक अपाङ्गतासँगै आँखा देख्दिनन् । गिरी दम्पतिको घर ५ लाख रुपैयाँमा पोखरेल दम्पतीले निर्माण गरिदिएको कर्तव्य फाउण्डेसनद्वारा प्रकाशित प्रेस नोटमा उल्लेख छ ।

‘हाम्रो पनि सुन्दर घर होस् अभियान’ अन्तरगत एक सक्षम र इच्छुक ब्यक्ति वा संस्था वा प्रतिष्ठानले घर नहुने एक परिवारको लागि घर निर्माण गरिदिने उद्देश्य हो’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताएका छन् । संयोजक गिरीका अनुसार घर निर्माणका लागि अभियानले अति विपन्न अपाङ्गता भएका, बृद्धबृद्धा, एकल तथा अल्पसंख्यक, सीमान्तकृत समुदायका परिवार छनौट गर्ने नीति बनाएको छ ।

अभियानले छनौट गरेको ब्यक्तिको घर निर्माणदाता तथा अभियानकर्मीले आफ्नै प्रत्यक्ष निगरानी र स्रोत परिचालन गरेर गरिदिने जनाइएको छ । फाउण्डेशनले घर निर्माणका लागि कोहीबाट पनि नगद संकलन नगर्ने संयोजक गिरीले प्रष्ट पारेका छन् ।

सामाजिक र मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको फाउण्डेशनले दाता र सम्बन्धित ब्यक्तिलाई जोडर संयोजनकारी भूमिका निर्वाह गर्ने बताइएको छ । इच्छुक दाताले आफ्नो कमाईको केही अंशबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्न घर निर्माण कार्य थालिएको उनको भनाई छ ।

अभियानले एक सय घर निर्माण गर्ने जनाएको छ । कार्यक्रममा घर निर्माण गरिदिने पोखरेल परिवारलाई अभियानले सम्मान पनि गरेको थियो ।

अर्जुनधारा ५ का वडाअध्यक्ष ध्यानबहादुर भारतीको अध्यक्षतामा भएको कार्यक्रममा सहारा नेपाल साकोसका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले स्वस्ती बाचन गरेर सुरु गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *