झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन
Published:
by .झापा । बिर्तामोडमा आज झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन गरिएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकार शान्ति सुरक्षाको विषयमा गम्भीर भएर लागिरहेको जिकिर गरे । सवारी साधन बढेसँगै पैदलयात्रुको चापले पनि बढी दुर्घटना हुने गरेको बताउँदै मन्त्री कार्कीले सुविधायुक्त गन्तव्यमा पुर्याउनका लागि जोखिम मोलेरै भए पनि ट्राफिक प्रहरीले काम गर्ने गरेको सुनाए ।
नागरिकलाई सुरक्षा दिनका लागि खट्ने सुरक्षाकर्मीलाई सुरक्षा दिएमा सुरक्षाकर्मीले नागरिकको सुरक्षा गर्न सहज हुने उनको भनाई छ । सरकारले प्रहरीलाई सुरक्षा दिनकै लागि भवनहरूको स्तरोन्नति तथा निर्माण गरेको बताउँदै मन्त्री कार्कीले भवनको उचित व्यवस्थापन गर्न निर्देशन पनि दिएका छन् ।
प्रदेश सरकारले मेची पूलदेखि कोसी पूलसम्म तथा जोगवनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने प्रक्रिया सुरु गरेको र सिसी क्यामेराले मानिसलाई अनुुशासित बनाउने भएकाले दुर्घटनामा कमी आउने उनको धारणा छ ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, प्रदेश १ प्रहरी कार्यालयका प्रमुख अरुणकुमार बिसी, प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रमुख वासुदेव खतिवडा लगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन उद्घाटन गरिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँ ९८ पैसाको लागतमा सो भवन निर्माण भएको हो । भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई उद्घाटनका अवसरमा सम्मान गरिएको पनि छ ।
Comments