‘अर्को वर्षदेखि जनताबाट बाटोे, पूल पुलेसाको माग आउने छैनन्’
Published:
by .हल्दिबारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रोशनी शिवाकोटीलाई झापाली मजदूर आन्दोलनमा एउटा संघर्षशील नेतृको नामले चिनिन्छ । नेपाल स्वतन्त्र टेक्सटायल गार्मेन्ट मजदूर युनियन, मोमेन्टो एपरेल्स प्रालि इकाइको तीन कार्यकाल अध्यक्ष भई नेतृत्व गरेकी उनी त्यसपछि केन्द्रीय सदस्य बनेकी थिइन् । ट्रेड युनियनको काम गर्दै तालिमको शिलशिलामा उनी केही समय कम्बोडिया पनि गएकी थिइन् ।
हल्दिबारी गाउँ पालिकाको महिला तथा बालबालिका समितिका संयोजक तथा शिक्षा समितिको सदस्यसमेत रहेकी रोशनी शिवाकोटीसँग स्वाधीन सम्वाद साप्ताहिकका सम्पादक माधब बिद्रोहीले वडाको विकास निर्माणका सारोगारोका बारेमा कुराकानी गरेका छन् ।
मजदूरको नेतादेखि जनप्रतिनिधिसम्म हुँदा तपाईंले के फरक महसुस गर्नुभयो ?
श्रम बेचेर पनि श्रमको मूल्यको लागि सधैं लडिरहनु परेको क्षेत्रबाट जनताको समग्र विकास निर्माणको क्षेत्रमा आउँदा फराकिलो ठाउँमा आएको जस्तो लागेको छ । मजदूरी गर्दा नेपालका मजदूरले सरकारी नियम बेगर कुनै थिति बिना नै काम गर्नु परेको र ट्रेड यूनियनको अधिकारका लागि संघर्ष गर्नुपर्ने अवस्था थियो । अहिले जनताको विकास निर्माणको नाममा मनपरि गर्नेहरुको विरुद्धमा जुट्नु परेको छ । अहिले हामी जनप्रतिनिधि हुँदा वर्षौदेखि हुन नसकेको जनताको काम गर्न लागिरहेका छौं । आम नागरिकलाई उत्पादनसँग जोड्ने न्यायको क्षेत्रमा, सामाजिक संस्कारको क्षेत्रमा, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रको विकाससँग जनतालाई जोड्नुपर्ने हाम्रो दायित्व बनेको छ । अझ त्यसमा पनि भ्रष्टाचार रहितको समाज र सुशासन, कानूनी राज्य र सुखी तथा समृद्ध समाज सुखी नेपाली बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ ।
जनताको मतले निर्वाचित भएर आएपछि कस्तो महसुस गर्नु भएको छ ?
पहिला अर्कैको निर्णयमा काम गर्नुपर्ने भएकाले नयाँ सिर्जनाको कुनै गुन्जाइस थिएन । तर, अहिले आप्mना सिर्जनाहरु देखाउने अवसर प्राप्त भएको छ । हामी लोकसेवा पास गरेर आएका कर्मचारी होइनौं । हामी जनताको भावना जितेर निर्वाचित भएका हौं । कतिपय काम गर्दा हामी जनताको भावनासँगै अल्मलिने गर्दछौं । सबै विधि र प्रक्रियाअनुसार नहुन सक्छ । त्यसकारण म के कुराको निष्कर्षमा पुगेको छु भने जनताको अहित हुने काम कहिल्यै गर्नु हुँदैन । जानिएन भने सिकिन्छ, कामले काम सिकाउँछ । आत्तिने अवस्थामा पुग्नु हुँदैन । गत वर्षभन्दा यस वर्ष हामीलाई काम गर्न अलि सहज भएको छ । वडाको कामको विधि प्रकृया सिकिँदैछ । अब सकेसम्म जनताको काम नरोकियोस् भन्ने सोचका साथ काम गरिँदैछ ।
वडाध्यक्ष बन्नुभएको एक वर्ष बित्यो । गतवर्ष के कस्ता काम गर्न भ्याउनु भयो ?
गतवर्ष हामीले चाहेजस्तो काम गर्न नसके पनि प्राप्त श्रोत र साधन अनुसार प्रशस्तै काम गरेका छौं । उज्यालो हल्दिबारी नारालाई सार्थक बनाउन हामीले बिजुलीका ६४ वटा पोल गाडेका छौं । किसानको उत्पादन बढाउन २६ वटा सिंचाई मोटर किसानलाई वितरण गरेका छौं । एसईई सकेका विद्यार्थीहरुको लागि कम्प्युटर तालिम, युवा महिलाको लागि कटाई, सिलाई तालिम दिई स्वरोजगार हुन सक्ने स्थितिमा पुर्याएका छौं । अनुदानको व्यवस्था गरी अग्र्यानिक खेतीमा किसानलाई उत्प्रेरित गर्दै आएका छौं । बेमौषमी धानमा प्रोत्साहित गर्दै अनुदानको व्यवस्था गरेका छौं ।
रंगियाडाँडाबाट जलथल प्रवेश गर्ने पूलमामात्रै चारवटा सोलार बत्तीको व्यवस्था गरेका छौं । बाटोको स्तरोन्नति गरेका छौं । यस वडाका झण्डै ८० प्रतिशत बाटोहरुको स्तरोन्नति गरिएको छ । जसमध्ये ९ वटा मुख्य सडक रहेका छन् । अब यस वडामा २० प्रतिशत बाटो मात्रै स्तरोन्नति गर्न बाँकी छ ।
सिताला पैनीमा पक्की बाँध बनाएका छौं । यो पैनीको बाँध शुरु हो, निरन्तर लैजाने छौं । पाठेघरको समस्या देखिएकाले यहाँ शिविर नै चलायौं । च्याउ खेतीको लागि सीप, तालिमसँगै बीऊ पनि वितरण गर्यौं । स्वर्गद्वारीमा युथ पार्कको लागि तारजालीले घेराबारा गरेका छौं । हामीले यस वडामा संस्कृति बचाउ अभियान अन्तर्गत विभिन्न जात जातिका आस्थाका धरोहरको संरक्षण, जिर्णोद्वार र ट्रस निर्माण गरेका छौं ।
दूध कन्यामा प्रवेशद्वार निर्माण गरेका छौं । ढडुवामा हावा घर र बजारमा टहरा, आँपगाछी जंगलमा सार्वजनिक शौचालय निर्माण गरेका छौं भने युवालाई शारीरिक ब्यायाम गर्नका लागि जीम हाउसमा केही लगानी गरेका छौं । थोरै बजेटमा सबै क्षेत्र समेट्ने प्रयत्न गरिएको छ । तर पर्याप्त भने छैन ।
चालू वर्षमा के कस्ता कार्यक्रम गर्दै हुनुहुन्छ ?
गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा बजेट घटेको छ । यस वर्ष वडा नम्बर ३ मा ४० लाख रुपैयाँ मात्र विनियोजन भएको छ । यही रकमले क्षेत्रगत विकासका लक्ष्य निर्धारण गरेका छौं । अहिले पनि हामीले कृषि लाई नै फोकस गरेका छौं । हामीले कृषि उत्पादन वृद्धि गराउन सिंचाईमा ८ लाख रुपैयाँ, मन्दिर जिणोद्धारमा ४ लाख छुट्टयाएका छौं । यसवर्ष पनि हावाघर निर्माण गर्ने कार्यक्रम अघि सारेका छौं । चोक बजारमा केही काम भएर वा कसैलाई पर्खिन आउने व्यक्तिले सार्वजनिक स्थानमा बस्ने मिल्ने गरीको कुनै व्यवस्था नभएकोले सबै मानिस चिया पसलमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै हावा घरको अवधारणा ल्याएका हौं ।
गाउँपालिकाले अनुदान नदिइकनै कृषि क्षेत्रमा अग्र्यानिक खेती गरी उत्पादन बढाउने किसानलाई सम्मान गर्ने कार्यक्रम अघि सारिएको छ । जसले आप्mना सबै जमिनलाई बाँझो नराखी उत्पादनको कार्यमा प्रयोग गरेको छ उसलाई हामीले सम्मान गरी उहाँहरुको हौसलालाई बुलन्द गर्ने छौं । यो कार्यक्रम अन्तर्गत यो वर्ष ३ जनालाई सम्मान गर्नेछौं ।
यस क्षेत्रका किसानको समय बचाउन र कृषि क्षेत्रमा यान्त्रिकरण गर्न मकै छोडाउने मेसिन ५०÷५० प्रतिशत लागत सहभागितामा अनुदानको व्यवस्था गर्नेछौं । वडाका सबै सडकलाई ३० फुटको न्यूनतम हुनुपर्ने मापदण्ड अनुसार जिर्णोद्धार, मर्मत र स्तरोन्नतिको नीति अघि सारेका छौं ।
हामीले हरेक हप्ता एकजना जिउँदो इतिहास, ज्येष्ठ नागरिकसँगको भेटघाट कार्यक्रम राख्ने गरेका छौं । यस बाहेक यस आर्थिक वर्षमा ४० जना महिलालाई इलेक्ट्रिक तालिम दिने व्यवस्था मिलाएका छौं । हामीले बाँसको फर्निचर बनाउने तालिम सञ्चालन गर्नेछौं । अँध्यारो मुक्त उज्यालो हल्दिबारी कार्यक्रम अन्तर्गत बिजुली नपुगेको स्थानमा बिजुलीको पोल गाडेर यसैवर्ष विद्युत प्रवाह गर्नेछौं । अर्को वर्षदेखि हाम्रो वडाको कुनै पनि बासिन्दाले बाटो, पूल पुलेसाको माग नआउने गरी काम गर्दैछौं ।
सिंहदरबारको अधिकार जनताको घर आँगनसम्म आयो त ?
सरकारले सिंहदरबारको अधिकार घर आँगनसम्म भने पनि अहिले ऐन, कानून र नियमावली बनी नसकेको हुँदा सरकारले भनेजस्तै गरी अधिकार जनताको घर आँगनसम्म आइपुगेको छैन, पालिका तहसम्म मात्रै छ । हिजोको सिङ्गो गाविस अहिले वडामा समेटिएको छ । हिजो जसरी गाविसमा आएर जनताले काम गर्ने अवसर पाएका थिए, अहिले गाउँ वा नगरपालिका नै धाउनु पर्छ भनेपछि हिजोभन्दा आज जनतालाई झन झन्झट थपिएको छ । गाउँपालिकामा हुने सबै कामहरु वडा कार्यालयबाटै हुनुपर्नेमा त्यस्तो हुन सकिरहेको छैन । वडामा अधिकार आउने हो भने वडाहरुले आप्mनो सिर्जनामा कामहरु गर्न सक्ने थिए । अहिले कोही बिरामी भएर सामान्य सहयोग माग्दा पनि उपलब्ध गर्न सक्ने अवस्था वडा कार्यालयसँग छैन ।
Comments