Sajhamanch Archive

इटहरी उपमहानगरपालिकाले बनायो फोहोरबाट ग्यास उत्पादन गर्ने प्लान्ट

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

इटहरी । इटहरीमा फोहोरबाट मोहोर बनाउन थालिएको छ । इटहरी उपमहानगर पालिका वडा नम्वर १० मा आधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर फोहोरबाट मोहोर बनाउन थालिएको हो ।

फोहोर प्रशोधन केन्द्रबाट ग्याँस उत्पादन थालिएको छ । प्रशोधन केन्द्रको प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले आज उद्घाटन गरेका हुन् । इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवर्धन केन्द्र र वेन्स्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको त्रिपक्षीय साझेदारीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

फोहोर प्रशोधन केन्द्र सञ्चालनका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्र मार्फत् विश्व वैंकको ६० प्रतिशत अनुदान र वेन्ट एण्ड इन्भाइरो म्यानेजमेन्टको ४० प्रतिशत लगानी रहेको जनाइएको छ ।

इटहरी उपमहानगरपालिकाले जग्गा, प्रशोधन केन्द्रसम्म पुग्ने कालोपत्रे बाटो र पर्खाल लगाउने कार्य गरेको छ । उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरीमा प्रत्येक दिन ५५ टन फोहोर जम्मा हुन्छ । उक्त फोहोर प्रशोधन गरी सड्ने फोहोरबाट ग्याँस उत्पादन थालिएको हो ।

फोहोर प्रशोधन केन्द्रको प्रत्येक दिन ८०० केजी सम्म ग्याँस उत्पादन गर्ने क्षमता छ । नसड्ने फोहोरलाई रिसाइक्लिङ्ग गरेर बिक्री गर्ने योजना बनाइएको वातावरण शाखा प्रमुख चौधरीले जनाएका छन् ।

प्रशोधन केन्द्रको उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री भीम आर्चायले नगरपालिकाका लागि अत्यन्तै आवश्यकीय फोहोर प्रशोधन केन्द्र निर्माण भएर सञ्चालनमा आएकोमा खुशी ब्यक्त गरेका छन् । समृद्धिका लागि वातावरणीय स्वच्छता अनिवार्य रहेको जनाउँदै उनले इटहरीको फोहोरमैला उचित ब्यवस्थापन हुन थालेकोमा प्रशंसा पनि गरे ।

प्रदेश सांसद लिलम बस्नेतले इटहरीमा चुनौतीको रुपमा रहेको फोहोरमैला ब्यवस्थापनको कार्य ब्यवस्थित हुनु नगरबासीका लागि गर्वयोग्य रहेको बताए ।

नगरप्रमुख द्वारिकलाल चौधरीले प्रशोधन केन्द्रका कारण वडा नम्वर १० को विकासमा टेवा पुगेको जिकिर गरे । गुणस्तरीय कालोपत्रे सडकलगायत सम्झौता बमोजिमका अन्य कार्य गरिएकोले वडा नं. १० को मुहार फेरिएको उनको भनाई छ ।

उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षे कार्यकाल कै एक गौरव गर्न लायक कार्य सम्पन्न भएकोमा हर्षविभोर व्यक्त गरिन् । कार्यक्रममा वडाध्यक्ष प्रकाश चौधरी, वडासदस्य रामनारायण चौधरी, वेन्ट इन्भाइरो एण्ड म्यानेजमेन्टका प्रबन्ध निर्देशक मोहन भण्डारी लगायतले आफ्ना भनाई राखेका थिए । केन्द्र सञ्चालनमा नेपाल बंगलादेश वैंकको वित्तीय सहयोग रहेको छ ।

आजै इटहरी उपमहानगर वडा नम्वर ७ मा बहुवर्षे सडकको उद्घाटन गरिएको छ । विभिन्न खण्ड गरी करिव तीन किलोमिटर कालोपत्रे सडकको पूर्व मुख्यमन्त्री भीम आर्चायले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले इटहरी उपमहानगरका प्रमुख चौधरीको नेतृत्वमा भएको विकास निर्माण कार्यको प्रशंसा गरेका छन् ।

नगरप्रमुख द्वारिकलाल चौधरीले टुक्रे योजनाबाट दु्रत विकास नहुने देखेर तीन वर्षको बजेट जोहो गरी वहुवर्षे सडक निर्माण गरिएको प्रष्ट पारेका छन् । उद्घाटन कार्यक्रममा वडा नम्वर ७ का वडाध्यक्ष नरवहादुर राई र वडासदस्य देवनारायण चौधरी लगायत सम्बोधन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *