Sajhamanch Archive

न्याय निरुपणमा बिर्तामोड नगरपालिका उत्कृष्टः उपप्रमुख प्रसाई

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतारा प्रसाईले आफ्नो संयोजकत्वमा रहेका नगरपालिकाका विषयगत शाखाहरुको कार्य प्रगति विवरण आज सार्वजनिक गरेकी छन् ।

२०७४ साल असार १४ गतेको निर्वाचनबाट निर्वाचित भई असार २५ गतेदेखि उनले उपप्रमुखको जिम्मेवारी सम्हालेको जनाइन् । नगरपालिका प्रवेश गर्दा आफूहरुसँग काम गर्नका लागि कानुनको तर्जुमा नभएकाले सुरुमा असहज भएपनि क्रमशः कानूनको तर्जुमा गरी काम सम्पादन थालेको उनको भनाई छ ।

नगरपालिकाका उपप्रमुखको मातहतमा न्यायिक, राजश्व, अनुगमन, योजना तर्जुमा आदि समितिहरु क्रियाशील हुन्छन् । उपप्रमुख प्रसाईंको कार्यकालमा बिर्तामोड नगरपालिकाको न्यायिक समिति झापामै उत्कृष्ट भएको उनले बताएकी छन् ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको विषय क्षेत्र मानिएको न्यायिक समिति कार्य सम्पादनमा उत्कृष्ट भएको हो । सोमबार बिहान नगरपालिकामा पत्रकार सम्मेलन गर्दै उपप्रमुख प्रसाईले भनिन् झापा जिल्ला अदालतले गरेको मूल्यांकनमा बिर्तामोडको न्यायिक समिति उत्कृष्ट भएको हो ।

प्रचलित कानुनी व्यवस्था, त्यसका आधारमा गरिएको न्याय सम्पादन र निरुपणले आफू नेतृत्वको समितिले उत्कृष्टता हासिल गरेको न्यायिक समिति संयोजक प्रसाईले प्रष्ट पारिन् । न्याय निरुपणको मूल्याङ्कनमा समितिले शतप्रतिशत अंक प्राप्त गरेको प्रसाईले बताइन् । उनले कार्यकालको चार वर्षमा ३२९ वटा मुद्दाको न्याय निरुपण गरेको छ ।

‘लामो समयदेखि मिल्न नसकेका जटिल प्रकृतिका मुद्दामा समेत न्यायिक समितिले छिनोफानो गरी किनारा लगाएको छ’ पत्रकारमाझ उनले भनिन् ‘न्याय निरुपणमा कुनै अन्याय नहुने गरी काम गरेको छु भन्ने लाग्छ ।’

न्यायिक समिति गठन भएयता नगरपालिकामा ३४७ वटा मुद्दा दर्ता भएका थिए । ‘दर्ता भएकामध्ये समितिले प्रचलित कानुनी व्यवस्थाका आधारमा ३२९ वटा मुद्दाको टुङ्गो लगाएको छ’ पत्रकार सम्मेलनमा उपप्रमुख प्रसाईले सुनाइन् ।

वडा तहका मेलमिलाप केन्द्रलाई समेत न्याय निरुपणमा अब्बल बनाउन तालिमको व्यवस्था गरी मापदण्ड पुगेकालाई ‘मेलमिलापकर्ता’ मा सूचीकृत गरिएको छ ।
वडा कार्यालयको मेलमिलाप केन्द्रमा पनि सहजरुपमा मेलमिलाप भइरहेको नगरपालिकाका न्यायिक समिति संयोजक प्रसाईले बताइन् ।

यस्तै नगरपालिकाले कार्यक्रम नै बनाएर उपमेयरसँग गर्भवती महिला कार्यक्रम तर्फ क्याल्सियम खरिद, एएनसी प्याकेज, भिडियो एक्स–रे तथा सुत्केरी गराउन यातायात सुविधा कार्यक्रम लगायतका कार्यक्रमहरु सम्पन्न भएका थिए ।

गर्भवती महिला कार्यक्रम अन्तर्गत २०७६/७७ पछिको तथ्याङ्क अनुसार ५ हजार १४ जना महिला लाभन्वित भएका छन् । उक्त संख्यामा गर्भवती महिलालाई क्याल्सियम तथा आइरन चक्की वितरण गरिएको थियो ।

यस्तै, महिलाको अर्को मुख्य स्वास्थ्य समस्या आङ खस्ने तथा पाठेघरको क्यान्सर स्क्रिनिङ्क सम्बन्धी नगरका १० वटै वडामा शिविर सञ्चालन गरेर समस्याको निदान प्रयास जारी रहेको उनले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *