सहारा नेपाल साकोस : सर्वसम्मत नेतृत्व चयन गर्न दलका जिल्ला प्रमुखको सुझाव
Published:
by .झापा । सदस्य संख्या र शेयर पुँजी दुवै हिसाबले नेपालकै सबैभन्दा उत्कृष्ट र ठूलो सहकारीको रुपमा स्थापित सहारा नेपाल साकोसको सञ्चालक समिति सर्वसम्मत चयन गरिनुपर्नेमा ठूला राजनीतिक दलहरु पनि एकमत देखिएका छन् ।
झापाको चारपानेमा मुख्य कार्यालय रहेको सो संस्थाको २७औँ वार्षिकोत्सव समारोहमा मन्तब्य राख्ने नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्की, नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउमान थेबे र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले सर्वसम्मत नयाँ नेतृत्वको अपेक्षा गरेका हुन् ।
‘सञ्चालक समिति र लेखा समिति सर्वसम्मत बनाउन सकेमा मात्र आजसम्म सहाराले पुर्याउँदै आएको सामाजिक योगदान निरन्तर कायम रहनेछ’ कांग्रेस जिल्ला सभापति थेवेले भने, ‘राजनीतिक रंग दिएर सक्षम व्यक्तिलाई कसैले छेक्ने प्रयत्न नगरौं, हाम्रो पार्टी तपाईंको संस्थाको नेतृत्व चयनमा दवाव दिनेछैन ।’
संघ–संस्थामा केही लोभीपापीहरु जहाँ पनि हुन्छन्, समिति निर्माण गर्दा लोपीपापी समूह अग्रसर भएर छेक्ने प्रयास पनि हुन्छ । तर सहकारीजस्तो व्यवसायिक संस्थामा मतदान गरेर नेतृत्व चुन्न हुँदैन भन्ने सभापति थेवेको सुझाव छ ।
कांग्रेस सभापति थेवेपछि मन्तब्यको पालो पाएका एमाले अध्यक्ष कार्कीले पनि आफू रुपान्तरित भएमात्र समाज रुपान्तरण गर्न सकिने घुमाउरो सुझाव दिँदै म नेतृत्वमा नपुग्दा सबैथोक सकिन्छ भन्ने मानसिकता त्याग्न आग्रह गरे ।
सहकारी बलियो बनाउनुस् तर यहाँ कांग्रेस, एमाले, राप्रपा भनेर राजनीतिक भागबण्डा नगर्नोस, सहकारीमा भागबण्डा गरेर संस्थागत विकास गर्न सकिँदैन । एक वर्षदेखि रोकिएको नेतृत्व चयन प्रक्रिया सर्वसम्मत विधिबाट शीघ्र निर्णयमा पुर्याउन एमाले अध्यक्ष कार्कीले सुझाव दिए ।
संस्थाको मुख्य कार्यालय चारपानेमा विशेष समारोहसहित २७औं वार्षिकोत्सव समारोहमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको छ । ७७ वटै सेवा केन्द्रमा एकसाथ सम्पन्न गरिएको २७औं वार्षिकोत्सव समारोहमा हरेकमा उत्कृष्ट दुईजना सदस्यलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
मुख्य कार्यालयमा भएको कार्यक्रममा संस्थाको नीतिअनुसार परिवार राहत कार्यक्रम अन्तर्गत अर्जुनधारा ५ का स्वर्गीय माधव बराइलीका श्रीमती दिलकुमारी बराइलीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।
त्यस्तै, लोक संस्कृति संरक्षण कार्यक्रम अन्तर्गत रामचोक नौमती बाजा समूहलाई वाद्यवादन सामग्री र स्थानीय छ जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
सहारा नेपाल साकोसले २७औँ स्थापना दिवसको अवसर पारेर आजदेखि एटिएम मेसिन पनि सञ्चालनमा ल्याएको छ ।वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगी र संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले एटिएम कार्ड र एटिएम मेसिनको अनावरण गरेका थिए ।
संस्थाले केन्द्रीय कार्यालय चारपाने र मेचीनगर नगरपालिकाको धुलाबारी सेवाकेन्द्रमा एकैसाथ एटिएम सेवा सुरु गरेको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । एटिएम सेवालाई आगामी दिनमा विस्तार गर्दै लैजाने नीति बनाइएको कार्यकारी प्रमुख गिरीको भनाई छ । सहाराले सञ्चालनमा ल्याएको एटिएम कार्ड एससिटी नेटवर्कमा चल्ने युपिआइ डेबिट कार्ड हो जुन नेपाल र भारतमा चलाउन सकिन्छ ।
कर्यकारी प्रमुख गिरीले सहारा नेपालमा हालसम्म एक लाख ६० हजार शेयर सदस्य पुर्याइएको, कार्यक्षेत्रभित्र ७७ वटा सेवाकेन्द्र सञ्चालनमा रहेका, ८० स्थानीय तहमा कार्यक्षेत्र बनाएर काम गरिरहेको जनाए ।
संस्थाको शेयर पुँजी एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने निक्षेप नौ अर्ब ५६ करोड रुपैयाँ छ । संस्थाले एक हजार ३१६ करोड रुपैयाँ ऋण लगानी गरेका छ । जगेडा तथा अन्य कोषमा एक अर्ब रुपैयाँ रहेको कार्यकारी प्रमुख गिरीले बताए ।
वार्षिकोत्सव समारोहमा प्रस्तुत विज्ञप्तीमा जनाइए अनुसार संस्थाले सन् २०१२ र सन् २०२१ मा गरी दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । लघुवित्तमार्फत महिला सशक्तीकरणमा योगदान पुर्याएवापत सन् २०१२ मा सियुएमआई पर्फमन्स अवार्ड र सदस्यहरुको संरक्षणमा काम गरेबापत सन् २०२१ मा स्मार्ट सर्टिफिकेट प्राप्त गरेको हो ।
संस्थाले गरिबी निवारण, स्वास्थ्य, शिक्षा, जैविक विविधता तथा वातावरण संरक्षण, खाद्य सुरक्षा, स्वच्छ ऊर्जाका क्षेत्रमा काम गर्दै दिगो विकास लक्ष्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
त्यस्तै, रोजगारी सिर्जनामा योगदान, कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग, पशुपालनमा किसानलाई सहयोग, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा योगदान पुर्याउँदै आएको छ ।
संस्थाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत गरेको कार्यक्रममा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संस्थाका संरक्षक नरनाथ गिरी, राप्रपा झापा अध्यक्ष केशव ओझा र प्रमुख अतिथि सरावगीले शुभकामना व्यक्त गरेका थिए ।
Comments