नयाँबजारमा नेपालकै अग्लो गणेशको प्रतिमा शिलान्यास
Published:
by .माईजोगमाई । इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एवम् पर्यटकीय क्षेत्र नयाँबजारको दुर्गा मन्दिर प्राङ्गणमा गणेश भगवानको प्रतिमा शिलान्यास गरिएको छ ।
करिब २१ फिट अग्लो प्रतिमा स्थापनाका लागि स्थानीय युवा व्यवसायी मुकेश भण्डारीले खर्च गर्ने भएका हुन् । उक्त प्रतिमा निर्माण र मन्दिर निर्माणको काम सम्पन्न हुँदा करिब १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको भण्डारीको भनाई छ ।
सो गणेशको प्रतिमा नेपालकै अग्लो हुनेसमेत भण्डारीले दाबी गरेका छन् । हाल राजधानी काठमाडौ बस्दै आएका भण्डारीले आफू जन्मेको हुर्केको ठाउँलाई विश्वसामु चिनाउन साथै धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउन गणेशको प्रतिमा आफ्नै खर्चमा बनाउन लागेको बताए ।
आफू काठमाडौमा रहने हुँदा सम्पूर्ण निर्माणकार्यको रेखदेख दुर्गा मन्दिर व्यवस्थापन समितिले हेर्ने भण्डारीले बताए । मंगल चतुर्थीको शुभ अवसर पारेर प्रतिमा शिलान्यासको शुभसाइत गरिएको दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिङमा तामाङले बताए ।
शिलान्यास कार्यक्रम माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मी, मन्दिर व्यवस्थापन समिती अध्यक्ष मिङमा तामाङ्ग, विभिन्न सामाजिक व्यक्तिहरुको उपस्थिति थियो ।
कार्यक्रममा माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीले मन्दिरको बाहिरी व्यवस्थापन तथा मन्दिर क्षेत्र भित्रका पूर्वाधार विकासका लागि गाउँपालिकाले आगामी दिनमा सहयोग गर्ने बताए ।
उक्त दुर्गा मन्दिरको उद्घाटन केही बर्ष पहिले भएको हो भने नयाँबजारमै यलम्बरको र हाब्रे (रेडपाण्डा)को प्रतिमा समेत निर्माण भएसकेको छ । यस्ता संरचनाहरुको निर्माणले पर्यटन प्रवद्र्धन तथा धार्मिक क्षेत्रमा टेवा पुग्ने प्रमुख प्रशासकीय अधिकृत रेग्मीको भनाई छ ।
Comments