भद्रपुर नगरपालिकाद्वारा ६६ जना युवा कृषकलाई टनेल वितरण
Published:
by .भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रका युवालाई व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहित गर्दै उद्यमी बनाउने उद्देश्यले टनेल वितरण गरेको छ ।
नगरपालिकाले नगरप्रमुख लघु उद्यम कार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६–६ जना युवा कुषि उद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो ।
आज बिहान नगरपालिका परिसरमा आयोजित एक संक्षिप्त समारोहका बीच टनेल वितरण गरिएको भद्रपुरका रोजगार संयोजक टिकाराम पाण्डेले जानकारी दिएका छन् ।
नगरपालिकाको युवा परिषदका कार्यकारी उपाध्यक्ष सरोज ढकालको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, ७ नं वडाध्यक्ष बिनोदप्रसाद पोखरेल, ५ नं वडाध्यक्ष बन्धु कार्की, ३ नं वडाध्यक्ष कमला थुलुङ, २ नं वडाध्यक्ष भीम केरुङलगायतले टनेल हस्तान्तरण गरेका हुन् ।
नगरभित्रका युवालाई विदेश पलायनबाट रोक्दै आफ्नै ठाउँमा व्यावसायिक कृषि उद्यमी बनाउन सहयोग पुग्ने सोचका साथ आ. व. २०७८–०७९ को बजेटमा युवालक्षित कार्यक्रम राखेर उद्यमी बन्न चासो देखाएका युवालाई टनेल वितरण गरिएको र यसका लागि नगरपालिकाले ३ लाख रुपैयाँ खर्च गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
आगामी वर्षहरुमा पनि युवालक्षित प्रभावकारी र उपलब्धिमूलक कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गर्नसक्ने गरी त्यसका अधारहरु तयार गरिसकिएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।
निःशुल्क रुपमा टनेल पाएका युवाले नगरपालिकाको कामको प्रशंसा गर्दै अब आफूहरु व्यावसायिक रुपमा बेमौसमी खेती गर्न उत्साहित भएको प्रतिक्रिया दिए ।
Comments