Sajhamanch Archive

सहाराका उद्यमी किसानलाई पशु प्राविधिक तालिम

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by .

मेचीनगर । सहारा नेपाल साकोस काँकरभिट्टा शाखाले मेचीनगर ४ आमडाँगीमा बाख्रापालक उद्यमी किसान र बंगुरपालक उद्यमी किसानलाई दुई दिने व्यवसायिक तालिम दिएको छ ।

चैत १७ गते बाख्रापालक उद्यमी किसानलाई बाख्रापालन सम्बन्धी तालिम दिइएको थियो भने चैत १८ गते बंगुरपालक किसानलाई सहजीकरण गरिएको सहारा नेपाल साकोस एग्रीविजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटले जनाए ।

पहिलो दिनको तालिममा सहभागी बाख्रापालक उद्यमी किसानलाई बाख्राको उचित स्याहारको विधि, सन्तुलित दाना बनाउने प्रयोगात्मक अभ्यास, बाख्रामा लाग्ने रोगहरुको निदान तथा सुईबाट औषधी लगाउने तरिकाका बारेमा प्रशिक्षण गरिएको डा. भाटले जानकारी दिए ।

सो तालिममा सहभागी किसानलाई बाख्राको दाना बनाउने तरिका सिकाउँदै डा. भाटले शरीरको तौलको १ प्रतिशत दाना दिएमा बाख्राका लागि पर्याप्त पौष्टिक तत्व पुग्ने सुझाव दिएका थिए ।

आमडाँगी क्षेत्रका ३५ जना बाख्रापालक किसान सहभागी तालिममा पशु बीमा र यसको महत्वका बारेमा फोकल पर्सन बिनोद दाहालले सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा सहारा नेपाल साकोस काँकरभिट्टा शाखाका प्रमुख खेम पुरीले संस्थाको वित्तीय विवरण प्रस्तुत गर्दै बाख्रापालन गरी उद्यमी सदस्य बन्न चाहाने किसानलाई सहाराले कर्जा प्रवाह गर्ने अवगत गराए ।

पशु प्राविधिक सृजना आचार्यसहितको संलग्नतामा उद्यमी बाख्रापालक किसानलाई दाना बनाउने तालिम दिइएको थियो भने तयारी दाना सम्बन्धित किसानलाई निशुल्क प्रदान गरिएको थियो । तालिममा सहभागी बाख्रापालक किसानलाई ५० हजार मूल्य बराबरका औषधीहरु पनि निशुल्क प्रदान गरिएको डा. भाटले जनाए ।

यसैगरी चैत १८ गते सोही स्थानमा बंगुरपालक किसानलाई सोही प्रकृतिको तालिम दिइएको थियो । तालिममा बंगुरको स्याहार, लाग्ने रोगहरु तथा त्यसको निदानका उपायहरु, औषधी उपचार गर्ने तरिकाबारे सहजीकरण गरिएको थियो ।

तालिमको सहजीकरण डा. कमलेश्वर भाटले गरेका थिए भने दाना बनाउने, उपचार गर्ने सम्बन्धी सीप सिकाउन प्राविधिक प्रविन कोइरालाले साथ दिएका थिए । तालिममा सहाराको वस्तु तथा सेवाबारे शाखा प्रमुख पुरीले सहजीकरण गरेका थिए ।

तालिममा सहभागी उद्यमी किसानलाई सीप सिकाउन तयार गरिएको दाना र ४० हजार रुपैयाँ बराबरको औषधीहरु निशुल्क प्रदान गरिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *