बालमैत्री पालिका बनाउन घोषणापत्रमै दबाव
Published:
by .बिर्तामोड । आसन्न स्थानीय तहको निर्वाचनमा झापाका सबै राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा बालमैत्री पालिका बनाउने प्रतिवद्धता गर्न आग्रह गरिएको छ ।
बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपालले बिर्तामोडस्थित प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिको सहयोगमा आज अन्तरक्रिया कार्यक्रम आयोजना गरी दलहरूको प्रतिबद्धता खोजेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा बिर्तामोड नगरइन्चार्ज देवराज कार्कीले बालबालिकाको हक अधिकार सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको बताए।
‘बालबालिकालाई शिरमा राखेर पार्टीले नीति बनाउनुपर्छ’ कार्कीले भने, ‘उनीहरुको सुन्दर भविष्यका लागि एमाले सचेत छ।’
नेकपा एकीकृत समाजवादीका झापा अध्यक्ष वेदराज रेग्मीले समाजमा बालबालिकाको वस्तुस्थिति बुझेर नीति बनाउने बताए। ‘सन्ततिको भविष्यसँग सबै कुरा जोडिएको छ’ अध्यक्ष रेग्मीले भने, ‘बालमैत्री शासन बनाउन हामी लाग्छौँ ।’
नेकपा माओवादी केन्द्रका झापा जिल्ला संयोजक राजु आचार्यले समाजको बनोट अनुसार बाल अधिकारका सबाल फरक–फरक हुने बताए। उनले राजनीतिक उद्देश्यका कुनै कार्यक्रममा बालबालिकालाई सहभागी नगराउने बताए।
नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवेले सबै स्थानीय तहलाई बालमैत्री बनाउनु पर्ने बताउँदै यसमा काङ्ग्रेस प्रतिवद्ध रहेको बताए। ‘घोषणापत्रमा उल्लेख गरेका विषय पूरा भएको छ कि छैन, त्यसको पनि समीक्षा गर्न तयार छौँ ।’
मञ्चका अध्यक्ष सरोज पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रथम बहुउद्देश्यीय सहकारी संस्था लिका दीपक पाण्डेले गरेका थिए ।
Comments