Sajhamanch Archive

गठबन्धन दलमा उम्मेदवार सकस झापामा रडाको

Published: in मुख्य समाचार, राजनीति, लोकप्रिय, स्थानीय तह by .

झापा । नेकपा एमालेलाई स्थानीय चुनावमा घुँडा टेकाउन कम्मर कसेर जुटेको पाँचदलीय गठबन्धनले कुनै पनि पालिकामा आजसम्म उम्मेदवार तय गर्न सकेका छैनन् ।

आज वैशाख २ गते दिउँसो उम्मेदवारहरु निर्धारण गर्न पाँचदलीय गठबन्धनको जिल्ला संयन्त्रको बैठक बसेको थियो । दिउँसो २ बजेदेखि साँझ साढे ५ बजेसम्म चलेको बैठक निश्कर्षमा पुग्न नसकेको जनाइएको छ । गठबन्धन झापा जिल्ला संयन्त्रको अहिलेसम्मका बहस र छलफलहरु निश्कर्षविहीन बनेका समाचार स्रोतले जनाएको छ ।

एमाले पछिको दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई भाग नै नरहने गरी १५ वटै स्थानीय तहमा नगरप्रमुख÷उपप्रमुख र गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमा चार दलले दावी गरेपछि गठबन्धनलाई झापामा साझा उम्मेदवार तय गर्न गाह्रो परिरहेको जनाइएको छ ।

आज शुक्रबारको बैठक पनि निश्कर्षविहीन बनेको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेको भनाई छ । गठबन्धन दलहरुले कांग्रेसलाई भाग नै नरहनेगरी उम्मेदवारी मागेपछि सहमति बन्न नसकेको उनले जानकारी दिए ।

‘जम्मै पालिका माग्छन्, नेपाली कांग्रेसलाई भाग नै नरहने गरी सबै पालिकाको नेतृत्व माग्छन्’ सभापति थेवेले भने, ‘अरु पार्टीलाई सबै पालिका दिने कुरा सोच्न पनि सकिँदैन ।’ जिल्लाका १५ वटा पालिकामध्ये दमक नगरपालिका बाहेक अरु कुनै पनि पालिकाको प्रमुख अन्य दललाई दिन नसकिने सभापति थेवेले स्पष्ट पारेका छन् ।

गठबन्धन दलका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले तीन वटाका दरले पालिका प्रमुख मागिरहेको समाचार स्रोत बताउँछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *