Sajhamanch Archive

हल्दिबारीमा तीन दिवसीय पत्रकारिता तालिम सुरु

Published: in मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

हल्दिबारी । प्रेस क्लब अफ हल्दिबारीको आयोजनामा आज शनिबारदेखि तीन दिवसीय आधारभूत पत्रकारिता तालिम सुरु गरिएको छ । हल्दिबारी गाउँपालिका न्यायीय समितिको आर्थिक सहयोगमा संचालित तालिममा हल्दिबारी क्षेत्रका ३० जना युवाको सहभागिता छ ।

हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक डम्बरबहादुर गिरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो । तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले तालिम लिएका युवाले सत्यतथ्य समाचार लेख्न सहयोग पुग्नेमा जोड दिए । समाचारलाई कसरी प्रस्तुत गरियो भने सन्तुलित हुन्छ र आलोचना हुँदैन भन्ने कुरा राम्ररी सिक्न प्रशिक्षार्थीहरुलाई उनले सुझाव दिए । कलमको दुरुपयोग नहुने गरी आचारसंहिताको समेत ख्याल गरेर पत्रकारिता गर्नुपर्नेमा उनको जोड थियो ।

गाउँपालिका उपाध्यक्ष गिरीले उद्घाटन समारोहमा नै हल्दिबारी गाउँपालिकाले ५ वर्षमा शिक्षा क्षेत्रमा गरेको कामको समाचार लेख्न आग्रह गर्दै प्रशिक्षार्थी पत्रकारमध्ये उत्कृष्ट एक जनालाई ५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेका थिए । उक्त तालिमले सामाजिक संजालमा हुने विकृतीलाई समेत रोक्न मद्दत पुग्ने उनको अपेक्षा थियो ।

प्रेस क्लब हल्दिबरीका अध्यक्ष नेत्रबिक्रम बिमलीको अध्यक्षतामा शुरुभएको तालिमको औचित्य माथि क्लबका सल्लाहकार नरेस चुडालले प्रकाश पारेका थिए । तालिम उद्घाटन समारोहमा सहजकर्ता गोपाल काफ्लेलगायतले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गरेका थिए ।

उद्घाटन सत्रको सञ्चालन क्लबका उपाध्यक्ष याम दङ्गाल र सचिव देवीका अधिकारीले गरेका थिए । तालिमको पहिलो दिनको दुईवटा सेशनमा झापाका अग्रज पत्रकार, साझामञ्च डटकमका सम्पादक तथा मनकामना कलेजका प्राध्यापक गोपाल काफ्लेले समाचार र पत्रकारिता पेसाका विषयमा सहजीकरण गरेका थिए ।

तालिममा सूचनाको हक, न्यायिक समितिबाट न्याय सम्पादन प्रक्रिया, पत्रकारहरुका समस्या, महिला पत्रकारको अवस्था लगायत विषयहरुमाथि छलफल हुने तालिकामा उल्लेख छ । तालिममा मोहनकाजी न्यौपाने, अम्बिका भण्डारी, सरोज पौडेलसहित एकजना अधिवक्ता, गाउँपालिका उपाध्यक्ष र आयोजक संस्थाका अध्यक्षले विभिन्न विषयमा सहजीकरण गर्ने उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *