सहिद सुरज र राजनको १६औं स्मृति दिवस सम्पन्न
Published:
by .झापा । शाही नेपाली सेनाको गोली लागेर झापाका दुई युवाले शहादत प्राप्त गरेको दिन वैशाख ६ गतेको सम्झनामा सहिद सुरज विश्वास र राजन गिरीको १६ औं स्मृति दिवस विविध कार्यक्रम गरी आज मनाइएको छ ।
२०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा चन्द्रगढीमा सहिद सुरज विश्वास र राजन गिरीले शाही शासनको अन्त्य गरी लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि देशका लागि बलिदान दिएका थिए ।
सहिद सुरज विश्वास पार्क निर्माण समितिले भद्रपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । सहभागीहरूले भद्रपुर– ६ स्थित सहिद सुरजको अर्धकदको सालिक र राजनको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली सभा गरेको हो ।
सहिद सुरज विश्वास पार्क निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षता तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य शुभलक्ष्मी राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहिद माता मिना विश्वाससहित भद्रपुर क्षेत्रका राजनीतिक अगुवाहरुको सहभागिता थियो ।
समितिका सन्ध्या हाडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दीपक अग्रवालले गरेका थिए ।
त्यस्तै चन्द्रगढी विमानस्थलमा सङ्गठित यातायात व्यवसायीको चन्दगढ यातायात प्रालिले सहिद सुरज विश्वासको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
व्यवसायीले भद्रपुर–८ स्थित आफ्नै भवनमा आयोजना गरेको रक्तदान कार्यक्रममा २४ जनाले रगत दिएको चन्दगढ यातायातका अध्यक्ष विजय वैधले जानकारी दिए । सहिद सुरज चालक भएको र उनी चन्द्रगढी विमानस्थलमा ट्याक्सी चलाउँथे ।
उता सहिद राजन गिरीको अर्ध कदको सालिकमा पनि माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको छ । २०६३ साल वैशाख ६ गते झापाको सदरमुकाम घेराउ गर्न हजारौँ झापाली जनता हिँडेर पुगेका थिए । शाही सत्ता तथा राजतन्त्रबाट आक्रान्त त्यो जनलहरमा थिए राजन गिरी र सुरज विश्वास ।
उनीहरूसँगै जनताले निषेधित क्षेत्रको घेराबन्दीलाई तोडेर शान्तिपूर्ण रूपमा आन्दोलनलाई अगाडि बढाइरहेका थिए । निषेधित क्षेत्र घोषणा गरेर जनतालाई तर्साउन खोजेका तत्कालीन शासकहरू जनलहर हेरेर आत्तिए । सोही क्रममा तत्कालीन शाही सेनाले प्रदर्शनकारी माथि बर्बर दमन गर्न सुरु गर्यो । सोही बेला झापाली दुई युवकलाई गोली लाग्यो र उनीहरूले सहादत प्राप्त गरेका थिए ।
Comments