हल्दिबारी गाउँपालिकामा जनप्रतिनिधिको नेतृत्व राप्रपाले गरे पनि विकासको नेतृत्व एमालेले गरेको उपाध्यक्ष गिरीको दावी
Published:
by .हल्दिवारी । झापाको हल्दिबारी गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीले आफ्नो विभागीय नेतृत्वमा पाँच वर्षमा गरेका प्रगति विवरण सार्वजनिक गरेका छन् । आज बुधबार बिहान गाउँपालिकाको नयाँ प्रशासनिक भवनको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष गिरीले सिङ्गो पालिकाको प्रगति विवरण पनि समेटेका छन् ।
हल्दिबारी गाउँपालिकाले पाँच वर्षमा ४३ किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण गरेको उपाध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार साढे ३४ किलोमिटर सडक कालोपत्रे निर्माणको क्रममा रहेको छ । यसै आर्थिक वर्षमात्रै ९७ स्लाव कल्भर्ट निर्माण गरिएको गिरीले जारी गरेको प्रगति विवरणमा उल्लेख छ ।
भौतिक पूर्वाधारतर्फ सडक निर्माणलाई प्राथमिकता दिएको हल्दिवारीमा १२५ किलोमिटर सडकलाई ग्राभेल गरिएको र ८५ किलोमिटरभन्दा बढी सडकको स्तरोन्नति गरिएको उपाध्यक्ष गिरीको भनाई छ । उनले ८६ किमि क्षेत्रमा खानेपानीको विस्तार गर्दै ५०० विपन्न परिवारलाई निःशुल्क खानेपानी जडान गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गिरीले वडा नं. २ मा सामुहिक आवासको लागि १३ वटा आवास निर्माण गरिएको जानकारी दिए । गाउँपालिकाले गरिव तथा विपन्न परिवारको लागि ३३ वटा आवास निर्माण गरी हस्तान्तरणसमेत गरिसकेको बताए । गाउँपालिकाभित्र रहेका अधिकांश विधालय भवन सुविधा सम्पन्न बनाउँदै लक्ष्मी माविमा १८ वटा व्यवसायिक सटर पनि निर्माण गरिएको जानकारी दिइएको छ ।
हल्दिवारी नमूना माविको तीन तले ९ कोठे भवन निर्माण गरिएको तथा १३ वटा विधलायको भवन निर्माण गरिएको उपाध्यक्ष गिरीले जानकारी दिए । आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार सहायता परिचालन कोष सञ्चालन गरेर ६०० नागरिकलाई सहयोग गरेको उनले बताएका छन् । तीन वटा प्याथोलोजी ल्याव सञ्चालनमा ल्याएर गाउँपालिकाका नागरिकलाई विशेष सेवा प्रदान गरिएको उनको दावी छ ।
स्वास्थ्य संस्थाविहीन हल्दिबारी वडा नं. ३ र ५ मासमेत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ । यस्तै, हल्दिबारीमा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको गिरीले जानकारी दिए ।
गाउँपालिकाले प्राविधिक शिक्षा (बाली विज्ञान) समेतलाई निःशुल्क अध्ययनको व्यवस्था गर्दै ८३ विधार्थीलाई पढाएको उपाध्यक्ष गिरी बताउँछन् ।
उपाध्यक्ष गिरीले शिक्षा क्षेत्रमा हल्दिबारीले देशभर मै उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिए । गाउँपालिकाभित्र कम्प्युटर शिक्षालाई अनिवार्य गर्दै कृषि, पर्यटनको क्षेत्रमा आम नागरिकको अपेक्षा अनुसारको प्रगति गरिएको बताए ।
हल्दिबारीको बाचा, झापाभरि माछा कार्यक्रम सञ्चालन गरेर विषादीयुक्त भारतीय माछालाई प्रतिवन्ध गर्न सफल भएको उनको दावी छ । उनले भूमिगत सिंचाई, मोटर बोरिङको वितरण गरेर किसानलाई सहयोग पुर्याएको जानकारी दिएका छन् ।
यस्तै, पर्यटनतर्फ भेलागुडी सामुदायिक वनक्षेत्र भित्र लोकतान्त्रिक सहिद पार्क निर्माण गरेर स्थानीय पर्यटनको विकासमा महत्वपूर्ण योजना सफल बनाएको उपाध्यक्ष गिरीको भनाई छ । सो योजना समेत आफ्नै योजना अनुसार सफल भएको उनले जानकारी दिए ।
पत्रकार सम्मलेनमा गिरीले पाँच वर्षसम्म एमालेको योजना अनुरुप हल्दिबारीका विकास योजना अघि बढेको बताएका छन् । उनले राप्रपाबाट निर्वाचित अध्यक्षलाई बजेट, नीति तथा कार्यक्रम बारे थाहा नभएको भन्दै जनप्रतिनिधिको नेतृत्व अध्यक्षले गरे पनि विकासको नेतृत्व आफूले गरेको बताए ।
हल्दिबारीको विकास आफ्नै पहल तथा नेतृत्वमा भएको बताउँदै उपाध्यक्ष गिरीले मन्त्रालयसँगको सम्बन्ध राम्रो भएका कारण विकास आयोजनाहरुका लागि पर्याप्त बजेट ल्याउन सफल भएको बताए । एमालेको भिजनले हल्दिबारीको मुहार बदलिएको छ, गिरीले भने – ‘अध्यक्षज्यूले अहिलेको व्यवस्था त बुझ्नु भएको छैन । कसरी काम गर्नुभयो होला ? तपाईहरु आफैं भन्नुहोस् ।’
जनताको काम गर्न आफ्नै मोटरसाइकल प्रयोग गरेको भन्दै उनले पत्रकारहरको जिज्ञासामा भने आफूले गाउँपालिकाबाट यातायात सुविधासमेत लिएको छैन ।
Comments