Sajhamanch Archive

वडाको चौतर्फी विकासमा शिवसताक्षी ११ का जनप्रतिनिधिको अग्रणी भूमिका

Published: (Updated: ) in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by .

शिवसताक्षी । निर्वाचित जनप्रतिनिधिले काम सम्हालेपछि शिवसताक्षी नगरपालिका वडा नं. ११ मा सडक, विजुली, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा उल्लेख्य मात्रामा काम भएको पाइएको छ ।

वडाका पूल, कल्भर्ट, मठमन्दिर, विद्यालय, पर्यटकीय क्षेत्र, सडक, विद्युत, नदीको कटान रोक्न तटबन्ध, विपन्नलाई आवासजस्ता आयोजनाहरु निर्माण सम्पन्न भएका हुन् । कतिपय वहुवर्षीय योजनाहरु सञ्चालनमा रहेको पाइएको छ । वडाका सडकहरु सम्पूर्ण रुपमा ग्राभेल भएको वडा कार्यालयले जनाएको छ । पूल कल्भर्टहरु ९० प्रतिशत काम भइसकेको र केही नयाँ खोलिएका बाटाहरुमा बाँकी रहेको वडाध्यक्ष भैरवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठ र वडा सदस्यहरुले वडाको आधारभूत आवश्यकता पूरा गर्दै आएको बताइएको छ । दूधे खोला र सताक्षी खोला कटान रोकथामका लागि पहिलो प्राथमिकतामा राखेर काम गरेको वडाध्यक्ष श्रेष्ठ बताउँछन् ।

वडाको उत्तरी क्षेत्र दूधे खोला कटान नियन्त्रणका लागि करिव ७०० मिटर तटबन्ध निर्माण गरी करिब एक विगाह जमिनको संरक्षण गरिएको छ । त्यस्तै दूधे पूल दक्षिणको उपवनमा नदी कटानबाट विस्थापितहरुलाई तडबन्धन पछि जमिन सुरक्षित गरी पुनः कृषि बाली लगाएर जिविकोपार्जनमा लगाइएको वडाध्यक्ष श्रेष्ठको भनाई छ । वडाध्यक्ष श्रेष्ठले निर्वाचन ताका जनताका सामु गरेका बाचाहरु ९० प्रतिशत हाराहारी पूरा गरेको दावी गरेका छन् ।

सडक कालोपत्रे

शिवसताक्षी नगरपालिकाको साझेदारी, प्रदेश सरकार र संघीय सरकारबाट ३ करोड ४५ लाख रुपैयाँको लागतमा आफ्नो वडामा २ दशमलव ५ किमीभन्दा धेरै कालोपत्रे सडक निर्माण भएको छ । वडाको दूधे बजार उत्तर पानी ट्यांकी जाने सडक प्रदेश १ को बजेटबाट १३०० मिटर कालोपत्रे भएको हो । त्यसैगरी दूधे उत्तर फोक्लेन्डको टापु जाने सडक नगरको साझेदारी कार्यक्रम अन्तर्गत ४५० मिटर कालोपत्रे गरिएको वडा कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा ५०० मिटर कालोपत्रे भएको थियो भने अहिले ४९० मिटर निर्माणको चरणमा छ । दूधे बजार दक्षिणको भित्री सडक नगरपालिकाबाट विनियोजित बजेटले २६५ मिटर कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

प्रदेश सरकारबाट विनियोजित बजेटले सताक्षीधामदेखि होकलबारी सडकको झिलझिले सतासीधाम ५ किमी र झिलझिलेबाट सताक्षीधाम जाने भित्री सडक पनि कालेपत्रेका लागि धमाधम काम भइरहेको वडाध्यक्ष श्रेष्ठले बताएका छन् । दूधे हाटबजार लाग्ने तेर्सो बाटोमा नगरपालिकाबाट विनियोजित १० लाख रुपैयाँको लागतमा पेवर्स बिच्छाइएको छ ।

खोला तटबन्धन

शिवसताक्षी नगरपालिकाको दूधे तथा सतासी खोला तटबन्धनका लागि शिवसताक्षी नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट २८ करोड ८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । गएको पाँच वर्षमा वडाका मुख्य दूधे र सतासी खोला कटान रोकथामका लागि उल्लेखनीय काम भएको ११ नम्बर वडा कार्यालयले जनाएको छ । दूधे खोला उत्तर पाथीभरा कुखुराफर्मको पूर्वपट्टी तटबन्धन गरिएपछि धेरै जमिन सुरक्षित बनाइएको छ ।

त्यस्तै उपवन पूर्व दूधे खोलाले १६ घर परिवार विस्थापित बनाएको र करिब २० विगाह जमिन खोलामा परिणत गरेपछि संघीय सरकार र शिवसताक्षी नगरपालिकाको बजेटबाट तटबन्धन गरिएको हो । वडा कार्यालयले ठूला खोला र साना होली कटान गरी क्षति भएका १८ स्थानमा तटबन्धन गरेको वडा सदस्य बहादुर आङ्बोले जानकारी दिए । धार्मिक तथा पर्यकटी क्षेत्र सताक्षीधाम संरक्षणका लागि संघीय सरकारको ६५ लाखको लागतमा तटबन्धन गरिएको उनको भनाई छ ।

सामुदायिक भवन निर्माण

शिवसताक्षी नगरपालिकाले वडा नं. ११ मा जनता आवास कार्यक्रम मार्फत संघीय सरकारबाट प्राप्त १ करोड २० लाखको लागतमा १६ वटा घर निर्माण गरेर हस्तान्तरण गरेको छ । विरान सामुदायिक भवन निर्माणमा प्रदेश सरकार र शिवसताक्षी नगरपालिकाबाट २५ लाख खर्च गरेर सामुदायिक भवन निर्माण गरेको शिवसतक्षी नगरपालिकाले जनाएको छ । दूधे सामुदायिक भवन र झिलझिले सामुदायिक भवन निर्माणमा ५२ लाख रुपैयाँ खर्च गरिएको तथ्याङ्कमा भेटिन्छ ।

११ नं. वडामा दुईवटा कभर्ड हल निर्माण गरिएको छ । दूधेमा सतासीधाम जेसीजले निर्माण गरेको कभर्डहलमा नगरपालिकाबाट ९ लाख विनियोजित बजेटले हल मर्मत र शौचालय निर्माण गरिएको हो । झिलझिले उत्तर टाँसी धार्गोलिङ्ग गुम्बामा नगरपालिकाबाट विनियोजित २० लाख लागतमा गुम्बा परिसरमा सामुदायिक भवन निर्माणको चरणमा छ । त्यस्तै झिलझिले उत्तर नगरपालिका र वडा कार्यालयको संयुक्त ८० लाखको बजेटले गणेशमान अध्ययन प्रतिष्ठानले इन्जिनियरिङ्ग कजेलको भवन निर्माण कार्य पनि सुरु गरेको छ ।

पर्यटन क्षेत्र

शिवसताक्षी नगरपालिका वडा नं. ११ पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा अतिथि गृह निर्माण गरिएको छ । प्रदेश सरकारबाट विनियोजत ५० लाखको लागतमा उक्त अतिथि गृह निर्माण गरिएको हो ।

नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र प्रवर्धनका लागि डिपिआर नै तयार गरी काम सुरु गरेको हो । हाल मन्दिरदेखि प्रवेशद्वारसम्म पेवर्स विच्छ्याइएको छ । नगरपालिकाबाट विनियोजित १५ लाखको लागतमा शौचालय तथा पिकनिक पार्क निर्माण गरेर पर्यटकीइ क्षेत्रको प्रवर्धन गरिएको नगरपालिकाले जनाएको छ ।

हाट बजार व्यवस्थापन

नगरपालिका अन्तरगत वडा नं. ११ दूधेमा लाग्ने हाटबजारमा व्यवसायीका लागि टहरा निर्माण गरिएको छ ।

बर्सौंदेखि पुराना टहरा रहेको, पानी चुहिने समस्या, वर्षाको बखत पानी जम्ने भएकाले हाटबजार नै रोकिने अवस्थालाई अहिले नयाँ टहरा निर्माण गरेपछि व्यापारीहरु पनि उत्साहित बनेका छन् । प्रदेश सरकारको १७ लाख रुपैयाँ भित्राएर ठूलो आकारका ६ वटा टहरा निर्माण गरिएको हो ।

शिक्षा क्षेत्र

शिवसताक्षी नगरपालिकाको वडा नं. ११ मा तीन  वटा सामुदायिक विद्यालयहरु छन् । नगरपालिकाले शिक्षाको गुणस्तर सुधार गर्न र भवन निर्माण गर्ने कार्यलाई यी दुवैलाई प्राथमिकतामा राखेर काम गरेको पाइएको छ । शिवसताक्षीको दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय र श्री मैनाचुरी प्राथमिक विद्यालयमा नगरपालिकाको बजेटबाट उल्लेख्यरुपमा काम भएको पालिका कार्यालयले जनाएको छ ।

राष्ट्रिय रमणीयमा नगरपालिका र प्रदेश सरकारको कार्यक्रम अन्तर्गत विज्ञान प्रयोगशाला, कक्षाकोठा, आइसिटी ल्याब, सरस्तवीको मन्दिर, स्टेज, फूलबारी, स्वर्ण स्तम्भ, विद्यालय रंङ रोगन, बालकक्षा परिसर, मन्दिर परिसर, मञ्च परिसरमा पार्किङ्ग टायल्स विच्छ्याइएको विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजालले जानकारी दिए । प्रअ रिजालका अनुसार गएको पाँच वर्षमा प्रदेश सरकार, नगरपालिका र जिल्ला समन्वय समितिबाट ९५ लाख रुपैयाँ बजेट विद्यालयमा लगाइएको हो । विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठन पाठन भइरहेको छ ।

यसैगरी श्री मैनाचरी प्राथमिक विद्यालयमा शौचालय निर्माण, कक्षा कोठा मर्मत, विद्यालय रङ्ग रोगनको काम गरिएको छ । हालसम्म नगरपालिकाबाट २ लाख २५ हजार बजेट प्राप्त भएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद मण्डलले जानकारी दिएका छन् । विद्यालय अघिल्लो वर्षदेखि कक्षा १ देखि ५ सम्म नै अंग्रेजी र नेपाली माध्यमबाट अध्यापन गराइँदै आएको प्रअ मण्डलको भनाई छ ।

वडा नं. ११ मा भिमनारायण विद्यालयमा पनि नगरपालिकाको सिलिङ्ग बजेटबाट शिक्षाको गुणस्तर, भौतिक पूर्वाधार लगायतका कामहरु भएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

कृषि क्षेत्र

शिवसताक्षी नगरपालिका वडा नं. ११ का कृषकलाई कृषि सामग्रीसहित उन्नत जातको विऊ विजन वितरण गरिँदै आएको छ । वडा कार्यालयका अनुसार हालसम्म वडाबाट १५ लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरिएको हो । आफ्नो भूगोलका कृषकहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गरेको तथा अन्तरक्रियामार्फत जागरुक गरेको वडा सदस्य बहादुर आङ्बो बताउँछन् ।

कृषकलाई सिंचाई मोटर, डेलिभरी पाइप, मल्चिङ प्लाष्टिक, उन्नत जातको धानको विऊ, बाख्राका पाठा, सुंगुरका पाठा वितरण गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । नगरपालिका कृषि शाखाबाट वडा नं. ११ का ६ जना कृषकलाई पावर ट्रेलरसमेत प्रदान गरेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *