छिमेकी देशमा कोरोना बढ्दोक्रममा, नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
Published:
by .काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्र भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
आज बिहीबार एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण दर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड विरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह गरेकी छिन् ।
भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको बताइएको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ ।
भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।
उत्तर प्रदेशमा तीन दिनमै २०० नयाँ संक्रमित भेटिएपछि मुख्यमन्त्री योगी आदित्यनाथले संत्रमणको पछिल्लो अवस्थाबारे सोमबार समीक्षा बैठक गरेका थिए । बैठकपछि उनले गौतमबुद्ध नगर, गाजियावाद, हापुड, मेरठ, बुलंदशहर, बागपत र लखनउमा सार्वजनिक स्थानमा मास्कलाई अनिवार्य गर्न निर्देशन दिएका हुन् । खोप नलगाएका व्यक्तिको पहिचान गरी खोप कार्यक्रमलाई थप गति दिन पनि उनले निर्देश गरेका छन् ।
उत्तर प्रदेशसँग नेपालको लामो खुला सीमा छ भने दिल्ली र काठमाडौंको सम्पर्क बढी छ । मुम्बई–काठमाडौंबीच पनि सिधा उडान छन् । २७ मार्चबाट भारतले व्यावसायिक उडानका लागि सबै विमानस्थल खुला गरेपछि दिल्ली–काठमाडौंबीच दैनिक ६ वटा फ्लाइट सञ्चालनमा छन् ।
त्यस्तै, नेपाल एयरलाइन्सले मुम्बईका लागि भर्खरै मात्र सातामा ३ वटा उडान थालेको छ । काठमाडौं आउँदा जाँदा दुवैतिर अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने गाइडलाइन हटाइएको छ । खोप कार्डले दुवैतिर मान्यता पाएको छ ।
Comments