कमलमा निर्वाचन कार्यालयद्वारा आचारसंहिता सम्बन्धी छलफल
Published:
by .कमल । कमल गाउँपालिकामा स्थानीय निर्वाचन सम्पन्न गर्न स्थापित निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनको लागि राजनीतिक दल तथा सञ्चार प्रतिष्ठानले पालना गर्नुपर्ने आचारसंहितका विषयमा छलफल गरेको छ ।
स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसँग सम्बन्धित आचारसंहितका विषयमा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीसँग छलफल गरेको हो ।
निर्वाचनका समयमा दल, उम्मेदवार तथा दलको भातृ संगठनले जुलुस, आमसभा कोणसभा गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने सुझाउँदै आयोगले भनेको छ कसैको घर आँगन आसपास वा निजको परिवारको कुनै सदस्यको सम्बन्धमा प्रदर्शन गर्न पाइने छैन ।
सार्वजनिक स्थलमा जुलुस आमसभा गनुृपर्ने भएमा स्थानीय प्रशासनसँग ७२ घण्टा अगावै अनुमति लिनुपर्ने, जुलुस आमसभा बैठक भेला वा प्रचारप्रसार गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने लगायतका विषयमा छलफल गरिएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।
सो अन्तरक्रियामा सञ्चार प्रतिष्ठान र सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा समेत छलफल भएको थियो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७८ मा उल्लेख गरिए अनुसार कुनै पनि सञ्चार प्रतिष्ठान र सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै पनि राजनीतिक दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नपाउने जनाइएको छ ।
यसैगरी, पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, कुनै भाषा, धर्म–सम्प्रदाय लिंङ्ग क्षेत्र बीचको सम्बन्धमा असर पुग्ने समाचार सम्प्रेषण गर्न नहुने लगायत विषयमा समेत छलफल भएको छ ।
कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, जनप्रतिनिधि, दलका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
Comments