Sajhamanch Archive

नेकपा एमाले मेचीनगरले स्थानीय तह निर्वाचन २०७९ का लागि प्रतिवद्धता पत्र सार्वजनिक

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by .

मेचीनगर । नेकपा एमाले मेचीनगरले स्थानीय तह निर्वाचन २०७९ का लागि पार्टीको प्रतिबद्घता पत्र सार्वजनिक गरेको छ ।

काँकरभिट्टामा नेपाल कम्युनिष्ट पार्टी एमाले मेचीनगर कमिटीले स्थानीय तह निर्वाचन २०७९ प्रतिबद्घता पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य एवम् नेकपा एमाले झापाका सहइञ्चार्ज रविन कोइराला, १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली, नेताहरु विष्णुप्रसाद प्रसाई, निलकण्ठ तिवारी, भीम खवास, हरिचरण बानियाँ लगायतका नेताहरुले संयुक्तरुपमा प्रतिबद्घता पत्र सार्वजनिक गरेका हुन् । एमालेले स्थानीय तहमा स्वास्थ्य सुधारको विषयलाई पहिलो प्राथमिकतामा राखेर चुनावी प्रतिवद्घता पत्र सार्वजनिक गरेको हो ।

प्रतिवद्घता पत्रमा ‘निरोगी नगर, स्वस्थ्य नगरवासी’ स्वस्थ्य सेवा र सुविधा पाउनु हरेक नागरिकको मौलिक अधिकार हो भन्ने मान्यता बमोजिम नगरबासीलाई निःशुल्क स्वास्थ्य सेवा र सुविधा पुर्याउने कार्यक्रम ल्याइने उल्लेख छ । हरेक परिवारले कम्तिमा एकलाख रुपैयाँको स्वास्थ्य उपचार सुविधा पाउने सुनिश्चित गर्न ज्येष्ठ, असहाय, श्रमिकलगायत विपन्न वर्गको पहिचान गरेर निःशुल्क रुपमा स्वास्थ्य बीमा गरिने एमाले मेचीनगर कमिटीको योजना छ ।

एमालेले प्रतिवद्घता पत्रमा शिक्षाको विषयलाई महत्व दिएको छ । कक्षा १२ सम्म निःशुल्क शिक्षा, गरीबलाई डाक्टर इन्जिनियर पढाउने बाचा गर्दै माध्यमिक तहसम्मको शिक्षा पाठ्य पुस्तकसहित निःशुल्क गरिने जनाएको छ । श्रमिक, सीमान्तकृत समुदाय र विपन्न वर्गका मेधावी विद्यार्थीलाई एमबीबीएस र बिई अध्ययन गर्न निश्चित मापदण्ड बनाएर नगर सरकारको तर्फबाट छात्रावृत्तिको व्यवस्था मिलाउने प्रतिबद्घता पत्रमा समेटिएको छ ।

आधुनिक र व्यवसायिक कृषि, मेचीनगरको समृद्घिका भन्दै प्रतिवद्धतापत्रमा कृषि, सामाजिक सुरक्षा भत्ता, सडक र भौतिक पूर्वाधार, उद्योग व्यापार, कला, साहित्य, संस्कृति र सञ्चार, खानेपानी, मौलिक कला संस्कृति, सुशासन र पारदर्शिता, युवा तथा खेलकुद ,महिला सशक्तिकरण, वन, वातावरण प्रकृति संरक्षणको विषयलाई एमालेले प्राथमिकताका साथ समेटेको छ ।

आधुनिक व्यावसायिक कृषिः मेचीनगरको समृद्घि नारा तय गर्दै एमालेले नगदे तथा तरकारी बालीका लागि ‘एक वडा एक उत्पादन’को कार्यक्रम ल्याउने र कृषि उपज तथा उत्पादनको उपभोग तथा बजारिकरणका लागि चारआली, धुलाबारी, इटाभट्टा र बाहुनडाँगीमा कृषिमण्डीको विस्तार गर्ने उल्लेख छ । सामाजिक सुरक्षा भत्ता अब घरघरमा पुर्याउने एमालेको प्रतिवद्घता पत्रमा उल्लेख छ ।

श्रमिक तथा विपन्न वर्गलाई घरायसी प्रयोगका लागि वार्षिक २४० युनिट बिजुली र मासिक न्यूनतम खानेपानी महसुल निःशुल्क उपलब्ध गराउने एमालेको योजना छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *