Sajhamanch Archive

कांग्रेस–माओवादी बिर्तामोड गठबन्धनको प्रतिबद्धता पत्र सार्वजनिक

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले आज बिर्तामोड नगरको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा आज बिहान आयोजित कार्यक्रममाझ बिर्तामोड नगरपालिकामा आफ्नो नेतृत्व स्थापित गर्नेगरी कार्यक्रम अघि सारेको हो । प्रतिवद्धता पत्रमा मूलरुपमा सातवटा बुँदालाई अघि सारिएको छ ।

बिर्तामोड नगरपालिकाको वृहत्तर विकासका लागि दीर्घकालिन गुरु योजना बनाएर काम गर्ने, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र सहकारीकरण गर्ने, फोहोर मैला व्यवस्थापनका लागि स्थायी र व्यवस्थित ल्याण्डफिल्ड साइडको व्यवस्थापन गर्ने, डोमालाल रंगशालालाई व्यवस्थित गरी व्यायामशालाको निर्माण गर्ने, कृषिथोक बजारको उचित व्यवस्थापन गरी आधुनिक कृषि बजारको विकास गर्ने, नगरलाई व्यापारिक, व्यवसायिक, शैक्षिक र स्वास्थ्य उपचारको (हब) केन्द्रको रुपमा विकास गर्ने गठबन्धन दलको कार्यक्रम छ । चुनाव जितेर नगरपालिकाको बागडोर आफूहरुको हातमा आएमा बिर्तामोडका साना ठूला खोलाको पानीलाई एकीकृत निकास बनाई संयुक्त कोरिडोरमार्फत व्यवस्थापन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

गठबन्धनले ‘किसान नै हाम्रो पहिलो साथी : त्यसैले कृषि क्षेत्र सबैभन्दा माथि’ भन्ने मूल नारा दिएर १६ वटा बुँदामा कृषिसम्बन्धी कार्यक्रम गर्ने उल्लेख गरेको छ । कृषक पहिचान गरी कृषक परिचय पत्र वितरण गर्ने, व्यक्तिगत तथा सामूहिक रुपमा सञ्चालन गरिएका व्यवसायीक कृषि तथा कृषि उद्योगहरुको व्यवसायीक क्षमता विकास गर्ने, कृषकहरुको लागि नगर सहकारी स्थापना गर्ने र सो मार्फत शित भण्डार निर्माण गरी सञ्चालन गर्ने गठबन्धनले प्रतिबद्धता जनाएको हो ।

नगरक्षेत्र भित्र रहेको बाँझो जमिनको उपयोग गर्ने, घना शहरी क्षेत्रमा व्यवस्थित कौशी खेती गर्न प्रोत्साहित गर्ने, साना किसानलाई अनुदानको पहुँचमा ल्याइ उनीहरुको आयआर्जनमा सहयोग गर्ने लगायत प्रतिबद्धता पत्रमा समावेश छन् ।

त्यस्तै गठबन्धनले शिक्षातर्फ सबै सामुदायिक विद्यालयलाई प्रविधिमैत्री विद्यालयका रुपमा विकास गर्दै प्राविधिक विद्यालयको रुपमा स्तरोन्नति गर्दै लैजाने, हरेक वर्ष एउटा सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयको रुपमा विकास गर्ने, विद्यालयमा आकस्मिक उपचार कोष स्थापना गर्ने, नगरभित्रका सबैखाले विद्यालयका शिक्षकहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गर्ने, विपन्न वर्गका विद्यार्थीलाई स्नातकोत्तर अध्ययन गर्न, एमवीवीएस, इञ्जिनियरिङ्ग, कृषि तथा पशु प्राविधिक शिक्षामा स्नातक गर्न आवश्यक सहयोग गर्ने, सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले विद्यावारिधी गर्न चाहेमा सहयोग गर्ने लगायत बुँदा प्रतिबद्धता पत्रमा समावेश गरेको छ ।

ज्येष्ठ नागरिकलाई घरैमा आँखा जाँचको व्यवस्था गर्ने, थप ओभरहेड ट्याङ्कीको व्यवस्था गरी हरेक घरमा शुद्ध पिउने पानीको व्यवस्था गर्ने, स्वास्थ्य बीमाको प्रक्रियालाई सहज बनाउने, नगर अस्पताललाई थप व्यवस्थित गरी हरेक वडामा स्वास्थ्य चौकी निर्माण गर्ने, वर्षमा एकपटक हरेक वडामा निःशुल्क घुम्ती शिविर सञ्चालन गर्ने लगायतका प्रतिबद्धतालाई गठबन्धन दलले अघि सारेका छन् ।

प्रतिवद्धता पत्र सार्वजनिक गरेपछि गठबन्धनबाट नगरप्रमुख पदका उम्मेदवार भोजराज सिटौला, उपप्रमुख पदका उम्मेदवार सिपी कडरिया र कांग्रेस जिल्ला सभापति देउकुमार थेवेले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *