Sajhamanch Archive

स्थानीय तह निर्वाचन : भद्रपुरमा एमालेको चुनावी अभियान तीव्र

Published: in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by .

भद्रपुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेसँगै झापाको सदरमुकाम रहेको भद्रपुरमा नेकपा एमालेले चुनावी अभियानलाई तीव्र पारेको छ ।

एमालेको तर्फबाट भद्रपुर नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका युवा नेता असारु राजवंशी, उपप्रमुख पदमा उम्मेदवारी दिएकी कौशल्या अधिकारीलगायत उम्मेदवारहरुको टोली शनिबार बिहानैदेखि विभिन्न वडाका घरदैलोमा भेटिएका थिए ।

भद्रपुरको चुनाव प्रसारप्रसार कमिटीका संयोजक तथा नेकपा एमाले प्रदेश १ का सदस्य जीवनकुमार श्रेष्ठका अनुसार पानीझरीमा पनि उम्मेदवारहरु मतदातासँग मत माग्न व्यस्त थिए । उनले भद्रपुरमा नेकपा एमाले तालिका बनाएर व्यवस्थित ढंगले चुनावी प्रचारमा लागेको पनि जनाए ।

शनिबार भद्रपुर नगरपालिकाको वडा नं ५ मा नगरप्रमुखका उम्मेदवार राजवंशी र उपप्रमुखका उम्मेदवार अधिकारी, सो वडाको वडाध्यक्षका उम्मेदवार रेवती खनाल, सदस्य पदका उम्मेदवारहरु सहित कार्यकर्ता र समर्थकहरुको ठूलो समूहले घर–घरमा गएर मत मागेको हो । सर्वसाधारण मतदाताहरुले पनि नेकपा एमालेको नेतृत्वमा पाँच वर्षमा भएका प्रगतिहरुको मुक्तकण्ठले प्रशंसा गर्दै फेरि पनि एमालेलाई नै मत हाल्ने प्रतिबद्धता जनाएका थिए ।

२०७४ को स्थानीय तहको निर्वाचनमा भद्रपुरमा नगरप्रमुख, उपप्रमुख, सात वडाध्यक्षसहित बहुमत सदस्य जित्न सफल नेकपा एमाले त्यो वर्चस्व र विरासतलाई कायम राख्दै थप सफलता हासिल गर्ने गरी चुनावी मैदानमा उत्रिएको जनाइएको छ ।

सर्वसाधारण मतदाताको प्रतिक्रिया र धारणाले नेकपा एमाललेलाई थप उत्साही बनाएको प्रचार–प्रसार कमिटीका सहसंयोजक चन्द्रमाया श्रेष्ठले बताइन् ।

यसैगरी, वडा नं ४ मा उम्मेदवार तथा कार्यकर्ताहरुले नेकपा एमालेको प्रचार गीत घन्काउँदै घरदैलो गरेका थिए । वडाध्यक्षका उम्मेदवार पूर्ण खजुमसहितको टोलीले मतदाताका घर–घरमा पुगेर मत मागेको थियो । शनिबार सबै वडामा मत माग्न घरदैलो गरिएको नेकपा एमाले भद्रपुर नगर कमिटीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *