Sajhamanch Archive

मेचीनगरमा एमालेबाट उपप्रमुख उम्मेदवार मीना पोखरेल उप्रेती बारे केही जानकारी

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by .

नेपालमा सूर्याेदयको जिल्ला झापाको पूर्वी सिमानामा रहेको मेचीनगर नगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेको तर्फबाट मीना पोखरेल उप्रेती पुनः उम्मेद्वार बनेकी छन् । वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा शानदार विजयी भई पाँचवर्षे कार्यकाल पूरा गरेकी उप्रेतीलाई नेकपा एमालेले पुनः उपप्रमुख पदको टिकट प्रदान गरेको हो ।

२०७४ सालको निर्वाचनमा काँग्रेस नेतृ दुर्गादेवी खतिवडालाई अत्याधिक मतले हराउँदै विजयी उप्रेतीले ५ वर्षको अनुभवले समेत आगामी दिनमा नगरको विकासमा योगदान पुर्याउने कुरामा विश्वस्त रहेको बताउँछिन् ।

वि.सं. २०२५ सालमा जन्मेकी मीना सानै उमेरदेखि राजनीतिमा निरन्तर सक्रिय छन् । पञ्चायती व्यवस्थाको कठोर राजनीतिक प्रतिबन्धका समयमा पनि उनीसँग अनेरास्ववियूका विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।

मोरङको अमरदहमा जन्मिएकी उप्रेती २०४४ सालमा कन्या क्याम्पस विराटनगरको प्रारम्भिक कमिटी अध्यक्ष, २०४५ सालमा अनेरास्ववियु मोरङ जिल्ला कमिटीको उपाध्यक्ष र सोही वर्ष प्रजातान्त्रिक राष्ट्रिय युवा संघ विराटनगर नगर कमिटी सचिव बनेकी थिइन् । २०४६–०४७ सालको जनआन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेको बताइन्छ ।

२०५० सालमा झापा काँकरभिट्टा निवासी लक्ष्मीप्रसाद उप्रेतीसँग उनको मञ्च विवाह भएको थियोे । झापा प्रवेशसँगै उनको राजनीतिक यात्रा झनै तिखारिँदै गयो । विवाह गरेकै साल उनी काँकरभिट्टा नेकपा एमालेको सदस्य भई निरन्तर रुपमा अखिल नेपाल महिला संघ नगर अध्यक्ष भएर काम गरिन् । आफ्नो राजनीतिक जीवनका क्रममा उनी पटक पटक प्रहरीको गिरफ्तारीमा परेको बताउँछिन् ।

मीना पोखरेल उप्रेती राजनीतिमा मात्र होइन विभिन्न सामाजिक संघ–संगठनहरुमा समेत उत्तिकै सक्रिय छन् । विगतमा काँकरभिट्टा सामुदायिक भवन, मेची सामुदायिक भवन, देवकोटा चिल्ड्रेन पार्क, भानु साहित्य प्रतिष्ठान, विराट क्षेत्र पर्यटन प्रवर्धन विकास समिति आदि संघ–संगठनमा आबद्ध भई काम गरेको अनुभाव उनीसँग छ । पूर्वी नेपाल विशेषतः मेची अञ्चलको पर्यटन प्रवर्धन र विकासका निम्ति उनको विशिष्ट योगदान रहदै आएको पाइन्छ ।

सहकारीको क्षेत्रमा पनि उप्रेतीको विशेष योगदान र संलग्नता छ । मुलुककै अग्रणी सहकारी संस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको संस्थापक सदस्य र सञ्चालक समिति सदस्यसमेत रहेकी थिइन् । झापामा उनलाई एउटा वौद्धिक महिला व्यक्तित्वका रुपमा चिनिन्छ । झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पसमा प्राध्यापनको अनुभवसमेत समेट्न भ्याएकी उप्रेतीको विभिन्न पत्रपत्रिकामा नियमित लेख रचनाहरु प्रकाशित हुने गरेका छन् ।

अत्यन्तै जुझारु, कर्मठ तथा संघर्षशिल उप्रेतीको उम्मेदवारीले अहिले मेचीनगरमा खुसीको तरंग पैदा गरेको छ । राजनीतिक तथा सािमाजिक क्षेत्रमा उनले गरेको योगदानको यहाँका मतदाताले अवश्य मूल्याङ्कन गर्ने विश्वास छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *