‘कनकाइको मुहार फेर्न सक्षम व्यक्ति हुन् राजेन्द्र र मञ्जु’
Published:
by .कनकाई । नेकपा एमालेका तर्फबाट कनकाई नगरपालिकाको नगरप्रमुखमा उम्मेदवार बनाइएका राजेन्द्रकुमार पोखरेल र उपप्रमुखका उम्मेदवार मञ्जु प्रसाईसहितको टिम नगरको मुहार फेर्न सक्ने सक्षम नेतृत्व भएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
आज कनकाई नगर कमिटीले सुरुड्गामा आयोजना गरेको स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धता पत्र सार्वजनिक तथा चुनावीसभामा बोल्दै उनले कनकाईबासीको यो विशाल उपस्थितिले नै एमालेको जीत सुनिश्चित भएको बताए । उनले कनकाई नगरले एउटा दूरदृष्टि भएको अनुभवी नेता पाएको पनि बताए ।
‘पण्डितहरुले मन्त्र बिर्सिएलान् तर बुढाबुढीले भत्ता बिर्सिंदैनन्, छोराछोरीले विदेशबाट पैसा पठाउन बिर्सिएलान् तर एमालेबाट निर्वाचित जनप्रतिनिधिले ज्येष्ठ नागरिकको घरघरमा सामाजिक सुरक्षा भत्ता पुरयाउँछन्’ अध्यक्ष ओलीको भनाई थियो ।
बाटो बनाउन, हुलाकी मार्ग बनाउन, एयरपोर्ट बनाउन, देशलाई सुरुङ युगमा प्रवेश गराउन, अन्तरिक्षमा सेटलाइट पठाउन, कृषिलाई यन्त्रिकरण र आधुनिकीकरण गर्न एमाले चाहियो । यी कामहरु अरुले गर्न नसक्ने र एमालेले मात्र गर्न सक्ने पूर्वप्रधानमन्त्री ओलीको भनाई थियो ।
आफ्नो प्रधानमन्त्रीत्वकालमा भारतको मोतीहारीबाट नेपालको अम्लेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट पेट्रोलियम पदार्थ झर्न सुरु गरेको बताउँदै ओलीले भने ‘अहिले नेपालको मध्यक्षेत्रमा ट्याङ्करमा बोकेर पेट्रोल ल्याइरहनु पर्दैन।’
कार्यक्रममा “समृद्धि, समानता र सबल नगरको आधार, वडादेखि नगरसम्म एमालेको सरकार” नारासहितको ५ वर्षे नीति तथा कार्यक्रम समेटिएको प्रतिवद्धतापत्र सार्वजनिक गरिएको छ । एमालेले निर्वाचित भएपछि नगरको विकास गर्न शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, विकास निर्माण लगायतमा गर्ने परिवर्तनको खाका कोरिएको २८ बुँदे प्रतिबद्धता पत्र पनि एमालेका अध्यक्ष ओलीबाट गराइएको छ ।
सो कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा झापा इञ्चार्ज अग्नि खरेलले सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्न लाग्दा आयोग विघटन गरेर भूमिहिन तथा विपन्न परिवारलाई अन्याय गरेको बताए ।
कनकाईमा नेकपा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवारी दिएका राजेन्द्रकुमार पोखरेल अन्तराष्ट्रिय स्तरमा समेत कनकाइलाई चिनाउन सफल व्यक्ति रहेको उनको भनाई थियो । वैदेशिक सम्बन्ध कायम गरेर जनतालाई सुविधा दिन खोज्दा विपक्षीले अनावश्यक बखेडा झिकेर उनको चरित्रहत्या गर्ने प्रयास गरेको उनको भनाई थियो ।
कनकाई नगरपालिकाका नगरप्रमुखका उम्मेदवार राजेन्द्रकुमार पोखरेल झापाका १५ वटै पालिकाका नगरप्रमुखहरु मध्येको अब्बल रहेको बताउँदै खरेलले आगामी निर्वाचनमा समेत पोखरेलको नेतृत्व गरेको सक्षम टिमलाई विजय गराउन जनतासँग अपील गरे ।
यस पटकको स्थानीय निर्वाचनमा गठवन्धनले २०९ वटा पालिकामा गठवन्धन गरिरहदा ७ वटा पालिकामा मात्र महिलालाई प्राथमिकता दिएर महिलाको अधिकार माथि कुठाराघात गरेको उनको भनाई थियो ।
Comments