Sajhamanch Archive

बिर्तामोड १० लाई समृद्ध बनाउने एमालेका उम्मेदवारहरुको प्रतिवद्धता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

बिर्तामोड । नेकपा एमाले बिर्तामोडको चुनावी प्रचार अभियान अन्तरगत बुधबार दिनभर वडानम्बर १० का विभिन्न स्थानमा कोणसभा सम्पन्न भएका छन् । बैशाख १२ गते वडा नम्बर १ देखि सुरु गरेको प्रचार अभियान वडा नम्बर १० पुगेको हो ।

प्रचार अभियानमा नगरप्रमुख पदका उम्मेदवार पवित्रा महतारा प्रसाई, उपप्रमुख पदका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला र १० नं. वडाका वडाध्यक्ष तथा सदस्यका उम्मेदवारहरुसहित नेता, कार्यकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ ।

बुधबार वडा नम्बर १० को उत्तर भुतेनी, दक्षिण भुतेनी, सैनिक बजार, चमरधाप, लोक्ताप गाउँ, ठुटेबर, फेसबुक चोक लगायत विभिन्न स्थानमा कोणसभा गरियो । १० नम्बर वडामा नेकपा एमालेले रिमानध्वज लोक्तामलाई वडाध्यक्षमा उम्मेदवार बनाएको छ ।

यस्तै वडा सदस्यहरुमा महिला तर्फ गीता घिमिरे, दलित महिला सदस्यमा पूर्णिमा लाम्गादे र खुल्ला तर्फ प्रेमबहादुर पौडेल र पृथ्वीबहादुर बस्नेत उम्मेदवार छन् । वडा नम्बर १० मा नेकपा एमाले र राप्रपा विच गठबन्धन छ ।

कोणसभालाई सम्बोधन गर्दै नगरप्रमुखका उम्मेदवार पवित्रा महतारा प्रसाईले वडा नम्बर १० भित्र रहेका खानेपानी, विद्युत र सडक कालोपत्रेका समस्या समाधान गर्ने बताइन् । यसअघि विकरालरुपमा रहेका ठाउँमा सडक, पूल, कल्भर्ट निर्माण गरिएको एवम् धेरै घरहरुमा गोबरग्यास जडानमा सहयोग गरिएको उनको भनाई छ । ्

आफू उपप्रमुख भएकाले योजना तर्जुमा गरी यसअघिको कार्यकालमा फिल्टरसहितको खानेपानीको व्यवस्थापन, फुसको छानो भएका घरहरुलाई टिन वितरण, विद्यायलको पठनपाठन सुधार तथा नयाँ भवन निर्माण, घेराबारा लगायत कृषि तथा बंगुरपालनको क्षेत्रमा उल्लेखनीय काम गरेको उनले बताइन् ।

नगरप्रमुख जितेर आएपछि पहिलो प्राथमिकताका साथ वडा नम्बर १० मा रहेका अधुरो सडकलाई पूरा गर्ने र उत्तर भुतेनीको सडक कालोपत्रे गर्ने प्रतिवद्वता व्यक्त गरिन् । उनले वडामा रहेका अन्य विकासका कामहरुलाई टोल विकास समितिसँग समन्वय गरेर अघि बढ्ने धारणा राखेकी थिइन् ।

सो कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले सो वडामा कम्तिमा १० किलोमिटर सडक कालोपत्रे गर्ने आश्वासन दिए । उम्मेदवार संग्रौलाले जनताको आर्थिक आय आर्जनका लागि गाई पालन, कुखुरापालन, बंगुरपालन व्यवसाय र सामुहिक तथा आधुनिक खेतीको लागि अनुदानको व्यवस्था गरिने पनि बताए ।

नगरका सबै वडामा गरि ५ वर्ष भित्रमा एक हजार विपन्न आवास निर्माण गर्ने योजना रहेको पनि उनले बताए । क्षेत्रफलको हिसाबले वडा नम्बर १० बिर्तामोड नगरपालिकाको सबैभन्दा ठूलो वडा हो ।

वडा नम्बर १० का विभिन्न स्थानमा गरिएको कोणसभालाई प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, प्रदेश सांसद एकराज कार्की, राष्ट्रिय सभाका पुर्व सदस्य हरिचरण शिवाकोटी, नगरप्रमुख ध्रुवकुमार शिवाकोटी लगायतका नेताहरुले सम्वोधन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *