Sajhamanch Archive

कमल ३ मा वडाध्यक्षका उम्मेदवार कोइराला र उनका योजनाहरु

Published: in राजनीति, स्थानीय तह by .

झापाको कमल गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेदवार अग्निप्रसाद कोइराला भविष्य बोकेका एक सशक्त नेता हुन् । भवानीप्रसाद कोइराला र नरमाया कोइरालाको सन्तानका रुपमा २०३१ साल असार ३० गते उनको जन्म भएको हो । तत्कालीन तोपगाछी गाविस वडा नं. ७ हाल कमल गाउँपालिका वडा नं. ३ केर्खामा जन्मेका कोइरालाले दमक क्याम्पसमा अध्यायनरत रहँदा २०४७ सालमा अखिलको प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेको बताउँछन् । हाल उनी नेकपा एमाले कमल गाउँकमिटी ३ नम्वर वडाको अध्यक्षका साथै गाउँकमिटी सदस्यसमेत हुन् ।

एमए विएडसम्मको अध्ययन पूरा गरेका कोइराला शैक्षिक तथा विभिन्न सामाजिक संघ–सस्थामा आवद्ध व्यक्ति हुन् । उनको शैक्षिक तथा सामाजिक संघ–संस्थामा लामो अनुभव छ । उनी वण्डरल्याण्ड माध्यमिक विद्यालयका संस्थापक एवम् प्रिन्सिपल हुन् । कमल साहित्य कला संस्कृति प्रतिष्ठानको अध्यक्ष, नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) केर्खा शाखा कार्यालयगत उपसमितिको संयोजक, लायन्स क्लव अफ केर्खाको संस्थापक अध्यक्ष, एनप्याव्सन प्रदेश १ को निवर्तमान संयोजक लगायत सस्थामा उनी आवद्ध छन् ।

विचारमा प्रष्ट रहेका कोइराला योजना अनुरूपका कामलाई सम्पन्न गर्न माहिर छन् । वडाबासीको सेवामा आफूलाई अहोरात्र समर्पित गरिरहेका उनी वडाध्यक्ष पदको उम्मेदवार बनेका हुन् । शिक्षक, मजदुर, पत्रकार, बुद्धिजीवी, श्रमिक, व्यापारी, व्यवसायीसँग पनि उनको घनिष्ठ सम्बन्ध छ । त्यसैले उनलाई बहुमत कार्यकर्ताले वडा अध्यक्षको उम्मेदवार पठाउने प्रस्ताव गरेपछि पार्टी नेतृत्वले पनि जनभावनालाई बुझेर कार्यकर्ताको निर्णयलाई स्वीकार गरेको जनाइएको छ ।

उनले वडाध्यक्षको उम्मेदवारी दिएपछि युवासँग मिलेर चुनाव प्रचारप्रसार एवम् घरदैलो अभियानमा जुटेको बताएका छन् । जहिले पनि वडा नं. ३ को कुन टोलमा कस्तो समस्या छ र काम कसरी अघि बढिरहेको छ भनेर उनी चिन्तनशील हुने गर्दथे । ‘राजनीति भनेको जनताको सेवा हो, यो पनि एक प्रकारको सामाजिक सेवा नै हो’ उनी भन्छन्, ‘चुनाव जितेर आफ्नो ५ वर्षे कार्यकालमा सदैव जनताको हितमा काम गर्नेछु ।’

कमलको आर्थिक, शैक्षिक र राजनीतिक केन्द्र मानिने वडा नं. ३ र विशेषगरी शहरउन्मुख केर्खा बजारलाई व्यवस्थित शहरको रूप विकास गर्न हचुवामा बजेट विनियोजन गर्ने परम्परालाई रोक्ने र प्राविधिक नक्साङ्कन, रूपाङ्कन र अनुमानित लागतको आधारमा मात्र बजेट छुट्टाउने पद्धति शुरु गर्ने उनका प्रतिवद्धता हुन् ।

पूर्वाधार निर्माण लगायतका विनियोजित बजेट खर्च गरी फस्र्याैटका लागि उपभोक्ता समितिलाई समस्या परिरहेकाले सहजीकरणका निम्ति वडा कार्यालयमा जनशक्तिको सो काममा सहयोग निम्ति व्यवस्था गर्ने कोइरालाको योजना छ । ज्येष्ठ नागरिक तथा अन्य सामाजिक सुरक्षा भत्ता पाउनेलाई भत्ता प्राप्त गर्न कठिनाई भएकाले घरघरमा सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गर्ने पनि कोइरालाको घोषणा छ ।

एकल महिलाका लागि सीपमूलक तालिमको आयोजना गर्ने र स्वरोजगार सिर्जनाका लागि वातावरण बनाउने र युवालाई उद्यमी बन्न र उत्पादनमूलक काममा सहभागी हुन प्रेरित गर्ने, वडाका योजना निर्माण र कार्यान्वयनमा सबैको सहभागिता सुनिश्चित गर्ने र वडाबाट गरिने प्रशासनिक कार्यमा सबै तहका जनताको समान पहुँच स्थापित गर्ने उनका योजना हुन् ।

नागरिकता ऐन अनुसार नागरिकता पाउन योग्य वडाका सबै नागरिकलाई बिना भेदभाव नागरिकता प्राप्तिका लागि सहजीकरण गरिने, वडामा रहेका विद्यालयको शैक्षिक पठनपाठन र गुणस्तरीय बनाउन वडा कार्यालयको तर्फबाट आवश्यक सहयोग गर्ने, सडकलाई स्तरउन्नतिसहित कालोपत्रे गर्ने र स्वच्छ खानेपानीको सेवा विस्तारका लागि पहल गरिने काइरालाका योजना छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *