कनकाईलाई समृद्ध र सुशासनयुक्त बनाउने साझा एजेण्डामा उम्मेदवारहरु
Published:
by .कनकाई । स्थानीय तह निर्वाचनका लागि झापाको कनकाई नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले नगरको बेरोजगारी समस्या समाधान, नगरभित्रै रोजगारीको व्यवस्था तथा नगरवासीलाई गुणस्तरीय तथा सुलभ रुपमा शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न आफू उम्मेदवार बनेको दाबी गरेका छन् ।
आफू निर्वाचित भए पछि कनकाई नगरपालिकालाई सुशासनयुक्त नगर बनाउने उनीहरुले दाबी प्रस्तुत गरेका हुन् । नगरमा ठूलो संख्यामा शिक्षित युवा बेरोजगार रहेको तथा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता रहेकाले उक्त समस्यालाई नगरभित्रै रोजगार सिर्जना गरेर समाधान गर्ने उनीहरुको आश्वासन छ ।
आज बिहान सुरुङ्गामा आयोजित एक कार्यक्रममा सबै दल तथा स्वतन्त्र रुपमा उम्मेद्वार बनेकाहरु एकै थलोमा उपस्थित भएर आफ्ना एजेण्डा प्रस्तुत गरेका हुन् । उनीहरुले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित बनाउन सहयोग गर्दै निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने पनि प्रतिवद्धता जनाएका थिए ।
नेकपा एमालेबाट नगरप्रमुख पदका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले बितेको पाँच वर्षमा पूरा गर्न नसकेको कामहरु आगामी कार्यकालमा पूरा गर्न पुनः उम्मेदवार बनेको बताए ।
उनले नगरभित्रका सुकुम्बासीलाई तीन महिना भित्र जग्गाधनी पूर्जा वितरण गर्ने धारणा राखे । पोखरेलले कनकाईलाई शिक्षा र स्वास्थ्यको हबका रुपमा विकास गर्न विगतमा धेरै काम गरिसकेको र बाँकी काम पनि तत्कालै गर्नेगरी अघि बढेको बताए ।
नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार रुद्रप्रसाद चिमरियाले आफूले नगरभित्रको सुकुम्बासी समस्या राम्ररी बुझेको बताए । उनले आफू मेयर निर्वाचित भएमा पहिलो प्राथमिकता मै सुकुम्बासीलाई धनीपूर्जा वितरणको काम गर्ने भनाइ राखे ।
चिमरियाले नगरभित्रको बेरोजगारी समस्यालाई वडास्तरमै साना साना लघु उद्योग खोलेर रोजगार सिर्जना गर्ने जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य र कृषि तथा कनकाई रिङरोडलाई नगरकै विशेष योजनाअन्तर्गत अघि बढाउने बताए ।
राप्रपाबाट मेयर पदका उम्मेदवार श्यामसुन्दर ओलीले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकताको जिम्मेवारी भएको बताए । उनले वृद्धवृद्धालाई निःशूल्क औषधोपचारको व्यवस्था गर्ने बताए ।
गर्भवती महिलाका लागि सुनौला हजार दिन कार्यक्रम लागू गर्ने उनको भनाई छ । उनले आफू निर्वाचित भएमा करको दर घटाउने र कर प्रणालीलाई वैज्ञानिक ढंगबाट अघि बढाउने दावी गरे ।
विवेकशील साझा पार्टीबाट मेयर पदका उम्मेदवार भीमप्रसाद अधिकारीले ३० वर्षदेखि समाधान हुन नसकेको नगरको सुकुम्बासी समस्या समाधान गर्ने बताए । उनले कमिसन र बाढी, डुबान मुक्त नगर बनाउने धारणा राखे ।
नगरको आयस्रोत वृद्धि गरी नगरबासीमा रहेको करको भार घटाउने, महिला सशक्तिकरणमा जोड दिँदै नगरभित्र रोजगारीको अवसर सिर्जना गर्नेमा आफू लागिपर्ने अधिकारीको दावी छ ।
मौलिक जरोकिलो पार्टीबाट उम्मेदवार बनेकी टंका उप्रेतीले कनकाईमा यहाँको मौलिकतासँग मिल्ने शासन व्यवस्था लागू गर्ने बताइन् । उनले कनकाईलाई कृषिमा आत्मनिर्भर हुने योजना ल्याउने बताइन् ।
नदी तटबन्धन गर्ने तथा साना उद्यम चलाएर भएपनि युवालाई नगरभित्रै रोजगारको व्यवस्था गर्ने योजना आफूहरुसंग भएको बताइन् ।
नेपाली कांग्रेसको सशक्त परिचय बनाएर पनि पार्टीले टिक नदिए पछि स्वतन्त्ररुपमा उम्मेदवारी दिएका शेरबहादुर थापाले कनकाईलाई पूर्वकै प्रमुख पर्यटकीय नगरीको रुपमा विकास गर्ने बताए ।
उनले आफू निर्वाचित भएमा नगरबाट गरिबी उन्मूलन गर्ने कार्यक्रम लागू गर्ने बताए । थापाले युवाका लागि रोजगारी सिर्जना गर्नुकासाथै शिक्षा र स्वास्थ्य तथा पूर्वाधार विकासमा जनतामुखी कार्यक्रमहरु सञ्चालन गर्ने बताए ।
अर्का स्वतन्त्र उम्मेदवार देवीप्रसाद उप्रेतीले आफू भ्रष्टाचारमुक्त नगर बनाउने अभियान बोकेर उम्मेदवार बनेको बताए । उनले कनकाईका युवाहरुको अवस्थालाई बुझेर उनीहरुलाई विदेश पलायन हुनबाट रोक्ने योजनासाथ चुनाव लड्न लागेको बताए ।
यस्तै, नगरउपप्रमुख पदका उम्मेदवारहरु एमालेबाट मञ्जु प्रसाई, कांग्रेसकी आशा शिवाकोटी, नेकपा एकीकृत समाजवादीकी अम्बिकादेवी महत, विवेकशील साझा पार्टीबाट अम्बिका चापागाईं, राप्रपाबाट सचित्रा खनाल र मौलिक जरोकिलो पार्टीबाट शान्ता दाहालले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएकाहरु, विपन्न तथा पछाडि पारिएका समुदाय र क्षेत्रका समस्यालाई प्राथमिकतामा राखेर आफ्नो एजेण्डा प्रस्तुत गरेका थिए ।
Comments