मेचीनगरमा जंगली हात्तीबाट भोग्दै आएको समाधान गर्ने एमालेका उम्मेदवारहरुको प्रतिवद्धता
Published:
by .मेचीनगर । नेकपा एमाले मेचीनगरका उम्मेदवारहरुले मानवीय र भौतिक क्षति नहुने गरी जंगली हात्तीको समस्यालाई समाधान गर्न नीति नै बनाएर अघिबढ्ने प्रतिवद्धता जनाएका छन् ।
शनिबार मेचीनगर–४ बाहुनडाँगीमा एमालेको चुनावी घरदैलो कार्यक्रममा मेचीनगरको नगरप्रमुख पदका उम्मेद्रवार गोपालचन्द्र बुढोथोकी, उपप्रमुख पदका उम्मेदवार मिना पोखरेल उप्रेती र वडाध्यक्षका उम्मेद्वार अर्जुनकुमार कार्कीले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
हात्ती तथा पर्यावरण र नदी उत्खनन् सम्बन्धी स्थानीयले राखेको जिज्ञासालाई सम्बोधन गर्दै सबै उम्मेद्वारहरुले मानवीय र भौतिक क्षति नहुने गरी जंगली हात्तीको समस्यालाई न्यूनीकरण गर्ने आश्वासन दिए । ‘स्थानीय तहमा संघीय र प्रदेश सरकारको कानून नवाझिने गरी काम गछौँ’ नगरप्रमुख पदका उम्मेदवार बुढाथोकीले भने– ‘आईई बीना नदी उत्खनन हुँदैन । उत्खननमा चुहावट नहुने गरी त्यसको व्यवस्थापन गरिनेछ ।’
‘हात्तीको आक्रमणबाट विगतमा ठूलो धनजनको क्षति भएको छ’ उपप्रमुख पदका उम्मेदवार उप्रेतीले भनिन्– ‘फेरि यस्तो समस्या जनतालाई नहुने गरी नगरपालिका बोर्डबाट नीति निर्माण गरी त्यसको निराकरण गरिनेछ ।’
१५ वटा वडा भएको मेचीनगरको ४ नम्बर वडालाई नमूना वडाको रुपमा विकास गरिने वडाध्यक्षका उम्मेदवार कार्कीले दावी गरे । ‘भारतबाट आउने जंगली हात्तीलाई उतै छेक्छौँ’ कार्कीले भने– ‘भारतसँग जोडिएको वडाको सीमामा जैविक मार्ग, विद्युतीय तारबार र विभिन्न प्रविधि अपनाएर हात्ती यता आउन दिदैनौँ ।’
कार्यक्रममा स्थानीयबासी विकास प्रधानले जंगली हात्तीको समस्या र पुस्कर ढकालले नदी उत्खनन नियन्त्रण सम्बन्धी एमाले उम्मेदवारका योजनाबारे प्रश्न गरेका थिए ।
नेकपा एमाले मेचीनगर वडा नम्बर ४ का अध्यक्ष प्रविण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवारहरुसँगै पार्टीका केन्द्रीय सल्लाहकार विष्णु प्रसाई, स्थानीय समाजसेवी शंकर लुईटेलले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको स्वागत तीर्थराज नेपाल र सञ्चालन वेग सुनुवारले गरेका थिए ।
Comments