Sajhamanch Archive

एमाले बिर्तामोडका नगर अध्यक्ष भट्टराई भन्छन् : ‘अब बिर्तामोडले विकासमा फड्को मार्छ’

Published: in मुख्य समाचार, राजनीति, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई ‘सुखी बिर्तामोड,समृद्ध बिर्तामोड’ बनाउने लक्ष्यका साथ नेकपा एमालेले आफ्ना उम्मेदवारहरु चयन गरेको नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले बताएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार अभियानमा संलग्न रहेकै समयमा वडा नं. ९ मा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै नगर अध्यक्ष भट्टराईले भने, ‘एमाले नेतृत्वको स्थानीय सरकारले पाँच वर्षमा अधिकांश कानूनहरु बनाएर कार्यान्वयनमा लगिसकेको र सकारात्मक रुपान्तरणको कार्य प्रारम्भ गरिसकेकाले अबको चरणमा नगरलाई सुखी र समृद्ध बनाउन काम गर्नेछ ।’

अध्यक्ष भट्टराईले नगरको सानो बजेट हुने भए पनि १० वटै वडामा समानन्तर तरिकाले वितरण गरेर काम अघि बढाइने पनि प्रष्ट पारेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको साुशसनका लागि काम गर्ने बताउँदै उनले फेरि एकपटक सूर्य चिह्नमा मतदान गर्न सबैसँग अपील पनि गरेका छन् ।

अबको ५ वर्षमा एमाले नेतृत्वको स्थानीय सरकारले गरिब, सुकुम्बासी, सिमान्तकृत, कृषक, युवा, विद्यार्थी लगायत सबै क्षेत्रमा महत्वपूर्ण काम गरेर देखाउने उनको योजना छ । विगत कार्यकालमा जनप्रतिनिधिहरुलाई पार्टीले निर्देशन गर्न नचाहँदा कतिपय ठाउँमा बेलगाम भएको स्मरण गर्दै उनले अब स्थानीय सरकारहरु पालिका कमिटीको मातहतमा रहेर काम गर्ने र यसका लागि पार्टीको नीति कार्यक्रम प्रमुख हुने सुनाए ।

नगरप्रमुख पदमा पवित्रा महतारा प्रसाई नेतृत्वको एमाले उम्मेदवारहरुले विजय हासिल गरेपछि अबको ५० वर्षसम्ममा बिर्तामोडको आर्थिक समृद्वि, उद्योग कलकारखाना, व्यापार व्यवसाय, कृषि लगायतका क्षेत्रलाई कस्तो बनाउने भन्ने बारेमा विज्ञहरुसँग परामर्श गरी कार्यक्रम बनाउने नगरअध्यक्ष भट्टराईले योजना सुनाए ।

अबको ५ वर्षपछि मत माग्न जाँदा एमाले नै विकास गर्ने पार्टी रहेछ भन्ने जनतालाई प्रमाणित गरेर देखाउने पनि उनको दृढता छ ।

नेकपा एमाले नेतृत्वको सरकारले यसअघि पनि भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा धेरै सकारात्मक रचनात्मक काम गरेको बताउँदै अध्यक्ष भट्टराईले एमालेमात्रै देशको विकासप्रेमी पार्टी भएको जिकिर गरे । अब निर्वाचित एमाले सरकारले यसअघिका अधुरा कामहरुलाई पूरा गर्ने र घोषणा पत्रमा समावेश गरिएका विषयहरुलाई प्रतिवद्धताका साथ कार्यान्वयन गरिने पनि स्पष्ट पारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *