Sajhamanch Archive

कनकाई नगरलाई शिक्षाको गन्तव्य बनाउने उपप्रमुखका उम्मेदवार मञ्जु प्रसाईको घोषणा

Published: in राजनीति, राष्ट्रिय समाचार, स्थानीय तह by .

कनकाई। नेकपा एमालेका तर्फबाट उपप्रमुख पदका उम्मेदवार मञ्जु प्रसाईले कनकाई नगरलाई शिक्षाको गन्तव्य बनाइने बताएकी छन् । शिक्षण सेवालाई समाजमा मर्यादित बनाउँदै समाज रूपान्तरणमा शिक्षालाई जोड्न विशेष कार्ययोजना बनाउने उनको भनाई छ ।

माध्यमिक र कलेज स्तरका विद्यार्थीहरूको रूची अनुसार ‘कमाउदै पढ्दै’ कार्यक्रम शुरु गरिने उपप्रमुख पदका उम्मेदवार मञ्जुको सोच छ । सबै सामुदायिक विद्यालयका उच्च मावि तहलाई दिइँदै आएको छात्रवृत्तिलाई कायम राख्दै समयानुकूल त्यसको रकम र दायरालाई बढाउने, कनकाई माध्यमिक विद्यालयमा सञ्चालित कक्षा ११–१२ को विज्ञान विषयलाई विद्यार्थीको आकर्षण बनाउन आवश्यक पहल गर्ने प्रसाईले योजना सुनाएकी छन् ।

यसैगरी, सामुदायिक क्याम्पसहरूको विकासका लागि विद्यार्थी केन्द्रित सहयोग गरिने, कनकाई क्याम्पसमा स्नातक तहमा विज्ञान विषयको पठनपाठन सञ्चालन गर्ने वातावरण निर्माण गरिने, कनकाई पोलिटेक्निक प्राविधिक शिक्षालयलाई स्तरोन्नति गर्दै इञ्जिनियरिङ कलेजमा विकसित गरिने एमाले कनकाई नगरको घोषणापत्रमा उल्लेखित विषय कार्यान्वयन गर्ने उनले प्रतिवद्धता जनाएकी छन् ।

स्थानीय आवश्यकतालाई मध्यनजर गरेर सम्भाव्यता अध्ययन गरी भगवती, सिंहदेवी, जानकी, जनचेतना आधारभूत विद्यालयलाई माध्यमिक विद्यालयमा विकसित गर्ने नीति लिइने प्रसाईको भनाई छ । लामो समयदेखि अखिल नेपाल महिला संघ र नेकपा एमालेका आबद्ध मञ्जुले विगत ५ वर्षमा कनकाई नगरपालिकामा रहँदा हासिल गरेका अनुभवलाई आगामी कार्यकालका उपयोग गर्ने बताइन् ।

शिक्षामा गुणस्तर वृद्धिको लागि गरिने तालिम, प्रशिक्षण, कार्यशालामा संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरूलाई सहभागिताको समान अवसर प्रदान गरिने, खेलकुद, संगीत, नृत्य लगायतका अतिरिक्त कृयाकलापमा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई समान अवसर प्रदान गरिने, विद्यालयका कक्षा कोठाहरूमा समान स्तरका बालमैत्री डेस्कबेञ्चको व्यवस्था गरिने, विद्यालयको परिचय खुल्ने सदनात्मक पोशाकको व्यवस्था गरिने र नर्सरीबाट युगानुकूल गुणस्तर स्तरोन्नति थालेर क्रमशः माथिसम्म पुर्याउने नीति लिने उनको सोच सार्वजनिक गरेकी छन् ।

त्यस्तै, विद्यालयमा समान ढंगले अतिरिक्त कृयाकलाप सञ्चालन गर्न घुम्ती प्रशिक्षकको व्यवस्था गरिने, निरन्तर प्रशिक्षण र मूल्याङ्कनको आधारमा प्रत्येक वर्ष नृत्य, गायन, कलाकारिता, वक्तृत्व, साहित्य सिर्जना इत्यादि विधामा रियालिटी शो गर्ने तय भएको छ । रियालिटी शोमार्फत कनकाईका उत्कृष्ट ५ प्रतिभा छनौट गरेर विद्यार्थीहरूलाई आफ्नो विशिष्ट प्रतिभा पहिचान गर्ने कार्यक्रम सञ्चालन गरिने, स्थानीय स्तरमा विषय विज्ञहरू निर्माण गर्ने वातावरण निर्माण गरिने पनि कार्ययोजनामा राखिएको छ ।

कनकाई नगरका जातजाति, भाषाभाषी, कला–संस्कृति, धर्म, कृषि, उद्योग, व्यवसाय, संघसंस्था, मनोरञ्जन, पर्यटन, प्राकृतिक सम्पदा, वातारवरण इत्यादि विषयमा कनकाई नगरको सम्पूर्ण पक्ष समेटिने र परिचय खुल्ने गरी स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण तथा समयानुकुल परिमार्जन गरी लागु गरिने उपप्रमुख पदका उम्मेदवार प्रसाइले योजना सुनाइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *