दमकमा एमालेको चुनावीसभामा उर्लियो जनसागर (फोटो फिचर)
Published: (Updated: )
by .दमक । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकको विकास विश्वमा नमूना रहने बताएका छन् ।
राष्ट्रिय स्तरमा त दमकको चर्चा त हुने नै गरेको छ अब अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा गर्न लायक बन्ने उनको दावी छ ।
दमकको विकास रोक्नका लागि अहिले राजावादीलाई समेत काँग्रेस र माओवादी केन्द्रले बोकेर हिडेको टिप्पणी गर्दै एमाले अध्यक्ष ओलीले यसलाई यहाँका सचेत जनताले विफल तुल्याएर विकास र सम्बृद्धिको पक्षमा एमालेलाई मत दिनेमा आफू विश्वस्त रहेको बताए ।
झापाको दमकमा भएको चुनावी सभामा ओलीले दमकको विकासलाई सबै क्षेत्रमा अनुकरण गर्न लायक बनाउने जनाएका हुन् । त्यसका लागि नगर प्रमुखमा गीता अधिकारी, उपप्रमुखमा अम्बिका खनालसहित एमालेका सबै उम्मेद्वारलाई जिताउन उनको आग्रह थियो ।
नगर प्रमुख उम्मेद्वार अधिकारी र उपप्रमुख उम्मेद्वार खनालले नगरबासीको भावाना अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
सामाजिक जीवनमा अहिलेसम्म कहीँ कतै पनि नचुकेको जनाउँदै अब पनि नचुक्ने पनि उनीहरुको प्रतिवद्धता थियो । चुनावी सभामा कम्तिमा पनि १० हजारको सहभागिता रहेको नेकपा एमाले दमक नगरकमिटीले जनाएको छ ।
यसअघि आजै कमल गाउँ कमिटीद्वारा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले देशको विकास र समृद्धिको मार्गचित्र एमाले ले नै कोरेकोले यसलाई पूरा गर्ने जिम्मेवारी पनि एमालेकै भएको बताएका थिए ।
एमाले अध्यक्ष ओलीले हाम्रो पार्टीले ल्याएका लोकप्रिय कार्यक्रम र योजनाकै कारण बाँकी सबै दल गठबन्धन गर्न बाध्य हुनु परेको पनि टिप्पणी गरे ।
देश बचाउने र बनाउने पार्टी एमाले मात्र भएको दाबी गर्दै उनले पुनः एमालले त्यो अपुरा छोडेका काम पूरा गर्नुपर्ने भएकोले एमालेका उम्मेदवारलाई सूर्य चिह्नमा मतदान गरेर विजय गराउनुपर्ने बेला आएको उनले प्रष्ट पारे ।
तस्वीर सौजन्यः दुर्गा काफ्लेको फेसबुक टाइमलाइन
Comments