समृद्ध बिर्तामोड निर्माण नेकपा एमालेका उम्मेदवारको प्रतिवद्धताः नगरप्रमुख पदका उम्मेदवार प्रसाई
Published:
by .बिर्तामोड । नेकपा एमालेबाट बिर्तामोड नगरपालिकामा नगरप्रमुख पदका उम्मेदवार पवित्रा महतारा प्रसाईले आफू उपप्रमुख भएको अवधिमा बिर्तामोडमा भौतिक पूर्वाधार, कृषि, पशुपालन, शिक्षा, विपन्न आवास लगायतका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएकी छन् ।
विगत ५ वर्षको अवधिमा नगरपालिकाले धेरै प्रगति गरेको बताउँदै अब आफ्नो नेतृत्वमा नगर कार्यपालिका बनेपछि बिर्तामोडमा १० वटै वडा जोड्नेगरी रिङ्गरोड निर्माण गर्ने अवधारणा ल्याएको बताइन् ।
स्थानीय तह निर्वाचन २०७९ को चुनाव प्रचारप्रसार अभियानको अन्तिम दिन आज वडा नम्बर ६ मा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै निवर्तमान नगर उपप्रमुख प्रसाईले रिङरोडको महसुस गरेर यस्तो अवधारणा ल्याएको प्रष्ट पारिन् ।
यस्तै नगरभित्र रहेका उद्यान पार्क, ऐतिहासिक स्थलहरुलाई पर्यटनसँग जोडेर उद्यमशिलता विकास गर्ने तथा नगरलाई समृद्धितर्फ अघि बढाउने आफू नेतृत्वको एमाले उम्मेदवारहरुको अठोट रहेको उनको भनाई थियो ।
वैदेशिक रोजगारीका कारण मुलुक तहसनहस हुने अवस्थामा रहेकोले यहाँ भएका साना उद्योगहरुलाई विकास गर्दै कृषि क्षेत्रलाई पनि प्रविधिमा जोडेर व्यवसायीकरुपमा अगाडि बढाउनु पर्ने आवश्यकता उनले औंल्याइन् । नगरप्रमुख पदमा उम्मेदवार प्रसाईले पर्यटन र होटल मेनेजमेन्ट अध्यनका लागि बिर्तामोडमा नाथुन कलेको स्थापना गरेको पनि जानकारी दिएकी छन् ।
नेकपा एमालेको सरकारले आयोग गठन गरेर जग्गा पहिचान गरी भूमिहिन सुकुम्बासीको लगत संकलन कार्य सुरु गरेको तर परमादेशी सरकारले यसलाई विगठन गरिदिएको स्मरण गराउँदै प्रसाईले बिर्तामोडमा परेका राष्ट्रियस्तरका कतिपय योजनासमेत परमादेशी सरकारले खारेज गरेको सुनाइन् ।
सो कार्यक्रममा उपप्रमुख पदका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले विजयी भएपश्चात आफ्नो जिम्मेवारीमा रहने कामहरु इमान्दारिताका साथ पूरा गर्ने प्रतिवद्वता जनाए । वडानम्बर २ का निवर्तमान वडाध्यक्ष संग्रौलाले यसअघिका अधुरा कामहरु पूरा गर्ने र बाँकी नयाँ योजनालाई अघि बढाउने प्रतिवद्धता बोकेर चुनावी मैदानमा होमिएको बताए ।
बिर्तामोड नगरपालिका वडा नं. ६ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा बुद्विराम भट्टराई, वडासदस्यमा महिलातर्फ आइतमाया लिम्बू शेर्मा, दलित महिला वडासदस्यमा पदमकुमारी दियाली, खुल्ला सदस्यमा खेमनाथ अधिकारी र देवीप्रसाद नेपाललाई उम्मेदवार बनाइएको छ ।
प्रचारप्रसारको अन्तिम दिन एमाले बिर्तामोड नगरकमिटीले वडा नम्बर ६ का स्यालडाँगी, पिपलचोक, बुट्टाबारी लगायतका क्षेत्रमा कोणसभा गरेको हो । प्रचारप्रसारका क्रममा टोलटोलमा रहेका ज्येष्ठ नागरिकहरुलाई खादा लगाएर सम्मानसमेत गरिएको थियो ।
Comments