निर्वाचनको नियम उल्लंघन गर्ने झापाका दुई मतदान अधिकृत कारबाहीमा
Published:
by .झापा । झापाको कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण र झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका दुवैजनालाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिएका छन् ।
मतदान अधिकृत शैलेन्द्र कर्णले हिजो एकजना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय पत्र उपलब्ध गराएको उजुरी परेको थियो । सम्बन्धित मतदाता वा उनको परिवारका सदस्यले मात्र लिन पाउने मतदाता परिचय पत्र मतदान अधिकृत कर्णले उम्मेदवारलाई नै वितरण गर्न दिएका उजुरी थियो ।
कमल ६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका कर्णले बिहीबार उक्त गल्ती गरेकाले कारबाही स्वरुप फिर्ता बोलाएको प्रमुख निर्वाचन अधिकृत नेपालले जानकारी दिएका हुन् ।
यसैगरी सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत मादकपदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा कारबाहीमा परेका हुन् ।
झापा गाउँपालिका वडा नं. ६ शरणामतिस्थित जनता मावि मतदान केन्द्र ‘ग’ का सहायक अधिकृत बस्नेतले मादक पदार्थ सेवन गरेर आएको मतदाताको गुनासो पछि उनलाई मतदानस्थलबाट हटाइएको हो । मादक पदार्थ सेवन गरेको वा नगरेको प्रमाणित गर्न बस्नेतलाई अस्पताल लगेर परीक्षण गरेको अधिकृत नेपालले जानकारी दिएका छन् ।
Comments