Sajhamanch Archive

सहारा नेपाल साकोसः उद्यमी पशुपालक किसानलाई घाँसको विउ निःशुल्क

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by .

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर प्रदेश १ का ६ वटा जिल्लामा सेवा प्रवाह गरिरहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्रका १ हजार ५०० पशुपालक उद्यमी किसानलाई यो वर्ष पनि उन्नत जातको घाँसको विउ वितरण गरेको छ ।

सहारा नेपाल साकोस एग्री विजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटका अनुसार संस्थाका सदस्य बनेका बाख्रा, गाई, भैंसी पाल्ने उद्यमी किसानहरुलाई २–२ केजीका दरले सुडान जातको बर्खे घाँसको विउ निःशुल्क वितरण गरिएको हो ।

कार्यक्षेत्रका अन्यत्रमा जस्तै झापाको बिर्तामोड वडा नं. ६ बिरानमा पनि सहारा बाख्रापालन समूहमा आवद्ध किसानलाई गत जेठ ७ गते विउ वितरण गरिएको छ । सो समूहमा आवद्ध ३० जना बाख्रापालक किसानलाई २–२ केजीका दरले घाँसको विउ प्रदान गर्दै यसको उत्पादन लिने विषयमा डा. भाटले सहजीकरण गरेका थिए ।

डा. भाटका अनुसार सुडान अकोसे घाँस हो । एकपटक उम्रिए पछि ३–४ पटक घाँस काटेर खुवाउन मिल्ने, तराईदेखि मध्य पहाडी क्षेत्रमा रोप्न सकिने तथा १ केजी विउ १ कठ्ठामा छर्न मिल्ने उन्नत जातको घाँस हो ।

सोही दिन पशु प्राविधिक डा. भाटले बाख्राको खोर अनुगमन गर्दै बाख्रापाठाको स्वास्थ्य अवस्थाका बारेमा किसानसँग अन्तरक्रिया गरेका थिए ।

सहारा नेपालले प्रत्येक वर्ष उद्यमी किसानहरुलाई उन्नत जातको घाँसको विउ वितरण गर्दै आएको तथा सदस्यहरुलाई उद्यमी बनाउन तालिम, स्वास्थ्य परीक्षण शिविर, पशु बीमा आदिमा सहजीकरण गरिरहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी बताउँछन् ।

यो वर्ष उद्यमी किसानलाई घाँसको विउ निःशुल्क प्रदान गर्न चार लाख ५० हजार रुपैयाँ खर्च गरेको जनाउँदै कार्यकारी प्रमुख गिरीले आगामी दिनमा बाख्रा पालक किसान समूहलाई उन्नत जातको बिउ बोका दिने कार्यक्रम बनाएको जनाएका छन् । यस्तै विगतदेखि नै गरिँदै आएको पशुपालक कृषक स्तरीय प्राविधिक तालिमलाई पनि निरन्तरता दिने जनाइएको छ ।

पशु धनको रक्षाको लागि साहारा नेपालले पशु बीमा गरिरहेको र अहिलेसम्म १ हजार ७०० सदस्यहरुको पशु बीमा गरिसकेको एग्रो विजनेश युनिटका प्रमुख डा. भाटले बताए ।

साहारा नेपालले विगत ५ वर्षदेखि विशेष गरेर व्यवसायिक हिसाबले पशुपालन गर्ने किसानहरुलाई सहजीकरण गर्दै आएकोले अहिलेसम्म करिब ५ हजार जना उद्यमी किसानहरु बनाइसकेको पनि उनले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *