प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग
Published:
by .काठमाडौँ । प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका बेला निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको अवगत गराउँदै सरकारलाई सुझाव दिने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा चुनावको विषयमा सरकारले परामर्श गर्दा मंसिर २२ सम्म रहेको जानकारी गराउने तयारी भएको बताए।
‘संविधानमा ५ वर्ष भनेर लेखेको छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचित भएको मितिदेखि भनेको छ । त्यो भनेको व्यक्ति निर्वाचित भएपछि प्रमाणपत्र पाएको मिति हो’ थपलियाले भने, ‘पहिलो सांसद निर्वाचित भएको २०७४ मंसिर २२ गते हो । निर्वाचित भएको मितिदेखि भनेपछि मंसिर २२ लाई आधार मान्नु पर्छ । यही विषयलाई राखेर केही समयपछि आयोगले सरकारलाई परामर्श दिन्छ ।’
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी कानुनमा आयोगसँगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ । २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव २०७४ मंसिर ११ र मंसिर २१ गते दुई चरणमा भएको थियो ।
हिमाली र उच्च पहाडी क्षेत्रका जिल्लाहरुमा मंसिर ११ र पहाड तथा तराईको जिल्लाहरुमा मंसिर २१ मा निर्वाचन भएको थियो ।
वैशाख ३० मा स्थानीय तह चुनावपछि प्रमुख राजनीतिक दलहरु प्रतिनिधिसभा र प्रदेशसभा चुनावको विषयमा छलफल थालेका छन् । प्रतिनिधसभा तथा प्रदेशसभाको कार्यकाल सुरुवातको विषयमा स्पष्ट नहुँदा विभिन्न क्षेत्रबाट फरक-फरक धारणा आएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा समेत कात्तिकमा प्रदेश तथा संघीय प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव गरेका थिए । सत्ता गठबन्धनको दलमात्रै नभएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि मंसिर अघि नै चुनाव गराउने विषयमा सकारात्मक देखिएको छ ।
राष्ट्रिय सभाको कार्यकाल भने पहिलो बैठकलाई आधार मानेर गरिएकाले फागुन २१ देखि नयाँ कार्यकाल सुरु हुने गरेको छ । राष्ट्रिय सभाको पहिलो बैठक २०७४ फागुन २१ मा बसेको थियो ।
Comments