‘बालेन फर अस, वी फर बालेन’ श्लोगान राखेर रितेनले खुला गरे शौचालय
Published:
by .बिर्तामोड । सार्वजनिक शौचालयलाई चुनावी एजेण्डा बनाउँदै आएका व्यवसायी तथा राजनीतिक दलहरुलाई झापाको बिर्तामोडका केही व्यवसायीहरुले मुख बन्द गरिदिन थालेका छन् । हिजोसम्म सर्वसाधारणलाई शौचको आपत पर्दा पनि आफ्नो पसल, होटल वा अफिसको निजी शौचालयमा छिर्न नदिने बिर्तामोडका केही व्यवसायीहरुको सोचमा परिवर्तन आएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नगरभित्र पायक पर्ने ठाउँहरुमा व्यवसायीलाई शौचालय प्रयोग गर्न दिन आग्रह गरेका थिए । सोही प्रभावले यहाँका व्यवसायीहरु समेत उदार रुपमा प्रस्तुत हुन थालेको भएका पाइएको छ ।
बिर्तामोडको पश्चिम बस स्टेन्ड दक्षिणतर्फ रहेको सेन्टर पोइन्ट (सिपी) होटल तथा पार्टी प्यालेसका सञ्चालक रितेन खरेलले ‘बालेन फर अस, वी फर बालेन’ स्लोगान राखेर आफ्नो शौचालयलाई सार्वजनिक रुपमा सर्वसाधरणको लागि खुला गरिएको घोषणा गरेका छन् । होटल सञ्चालक खरेलले बसका यात्रुहरुको सुविधालाई ध्यानमा राखेर यस्तो सुविधा प्रदान गरिएको बताए ।
बिर्तामोडका व्यवसायीहरुमध्ये आफ्नो निजी शौचालयलाई सार्वजनिक उपयोग गर्न दिनेमा शिखर साकोस पहिलो भएको छ । सो सहकारी संस्थाले भद्रपुर रोडमा रहेको आफ्नो मुख्य कार्यालयको शौचालय सर्वसाधारणका लागि खुला गर्ने घोषणा गरेको अध्यक्ष दिपेन्द्र राउतले आइतबार घोषणा गरेका थिए ।
लामो समयदेखि झापाको मुख्य बजार बिर्तामोडमा सार्वजनिक शौचालयको समस्या रहँदै आएकोमा अब व्यवसायीहरुले बालेनको प्रभावलाई आत्मसाथ गर्दै आफ्ना शौचालयहरु सर्वसाधारणलाई प्रयोग गर्न खुला गरेपछि समाधान हुने आशा गरिएको छ ।
Comments