जिल्ला समन्वय समिति झापाको प्रमुखमा बराल र उपप्रमुखमा रोका एमालेका उम्मेदवार
Published:
by .झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेले जिल्ला समन्वय समिति झापाको प्रमुखमा दमकका विश्वनाथ बराल र उपप्रमुखमा बिर्तामोडका शान्ता रोकालाई उम्मेदवार लाई बनाउने भएको छ ।
नेकपा एमोले प्रदेश १ कमिटीका सचिव चिन्तन पाठकले झापा, मोरङ र धनकुटामा जिल्ला समन्वय समितिमा पार्टीको तर्फबाट तय गरिएको उम्मेदवारको नाम फेसबुक स्टाटस बनाउँदै सार्वजनिक गरेका हुन् । प्रमुखमा उम्मेदवार बनाइएका बराल दमक नगरपालिका र उपप्रमुखमा उम्मेदवार बनाइएकी रोका बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य हुन् ।
यसअघि दमकका लोकबहादुर धिमाललाई प्रमुखको उम्मेदवार बनाउने चर्चा चलेको थियो । मेयर र उपमेयर हारेको दमकमा धिमाललाई प्रतिपक्षी नेताको रुपमा कार्यपालिकामै राख्ने निर्णय भएको जनाइएको छ ।
अब जिल्ला निर्वाचन कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनको मिति तय गर्नेछ । जिल्ला सभाको बैठक गरी मिति तय गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले जानकारी दिएका छन् ।
जिल्ला समन्वय समितिमा एकजना प्रमुख, एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला सदस्य, एकजना दलित सदस्य र बढीमा तीनजना खुल्ला सदस्य रहने प्रावधान छ । त्यस विषयमा छलफल गरी निर्वाचनको मिति घोषणा गरिने नेपालले बताए ।
जिल्ला सभामा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख सदस्य रहने व्यवस्था छ । यसरी गणना गर्दा नेकपा एमालेबाट १७ जना विजयी भएकाले सो पार्टीको बहुमत रहेकोले एमालेले बनाएका उम्मेदवारहरु विजयी हुने निश्चित छ ।
Comments