मेयरपकेट बाख्रा साटासाट कार्यक्रमअन्तरगत ४५ बाख्रा उद्यमी किसानलाई
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८ मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समूहलाई बाख्रा वितरण गरेको छ ।
नगरको पशुपन्छी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयरपकेट बाख्रा साटासाट अन्तर्गत आज शुक्रबार आयोजित कार्यक्रममार्फत् बाख्रा वितरण गरिएको हो । १५ जना कृषकहरु जनहीलाई ३ वटाका दरले ४५ वटा र समूहलाई एउटा बोयर जातको विउ बोको प्रदान गरिएको हो ।
कृषकहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराईले बाख्रा वितरण गरेका हुन् ।
यसअघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७ को श्रीजंघा बाख्रापालन कृषक समूह र हरियाली बाख्रापालन समूहले आफ्नो दायित्व अनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समूहका कृषकलाई वितरण गरिएको हो ।
मेयरपकेट बाख्रा साटासाट कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले ग्रामीण क्षेत्रका किसानहरुको जीवनस्तर उकास्नका लागि यस्तो कार्यक्रम ल्याइएको अवगत गराइन् । कार्यक्रमबाट धेरै कृषकहरुले लाभ लिएको बताउँदै उनले कुनै पनि कारणले बाख्रा मरे त्यसको प्रमाणसहित पेशगर्दा नगरले अर्को बाख्रा उपलब्ध गराउने पनि नगरप्रमुख प्रसाईंले जानकारी दिइन् ।
यस्तै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले नगरको कृषि तथा पशुपन्छी शाखासँग सम्बन्धित कार्यक्रमहरु महत्वपूर्ण र दीर्घकालिन रहेको प्रष्ट पारे । उनले कृषकहरुलाई बाख्राका लागि पौष्टिक जातका घाँसहरु लगाउन पनि आग्रह गरेका छन् ।
बिर्तामोड नगरपालिकाले २०७४ सालयता ५०० वटा बाख्रा र पाठा वितरण गरिसकेको पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिइन् । उनले हालसम्म ४१ लाख रुपैयाँको १६५ वटा बाख्राको खोर निर्माण गरेको पनि बताइन् ।
किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समूहका अध्यक्ष भावना ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समासेवी गोपाल लकान्द्री, प्राविधिक विष्णु भट्टराई, निमेश थापा लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।
Comments