पार्थिव शरीरमा सहकारीको झण्डा ओढाएर खरेलप्रति अभियानद्वारा उच्च सम्मान
Published:
by .झापा । हिजो साँझ इलाममा भएको स्कोर्पियो दुर्घटनामा मृत्यवरण गरेका कर्णाली साकोसका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलको पार्थिव शरीरमा सहकारीको झण्डा ओढाउँदै सयौं सहकारीकर्मीले आज श्रद्धाञ्जली अर्पण गरेका छन् ।
आज दिउँसो कनकाई माईको पूर्वी तटमा गरिएको दाहसंस्कार अघि खरेलको पार्थिव शरीरमा संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, जिल्ला सहकारी संघ, प्रदेश सहकारी संघ र राष्ट्रिय सहकारी महासंघका तर्फबाट संयुक्तरुपमा सहकारीको झण्डा ओढाइएको हो ।
राष्ट्रिय सहकारी महासंघ सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, प्रदेश सहकारी संघका सचिव तथा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दंगाल, संस्थाका सञ्चालक सदस्य गुञ्जन थापा र लेखा सुपरिवेक्षण समितिका संयोजक रामकुमार गौतमले संयुक्तरुपमा सहकारीको झण्डा ओढाएका हुन् ।
कनकाई आर्यघाटमा सहकारी अभियन्ता खरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न कर्णाली साकोससहित दर्जनौं सहकारी संघ–संस्थाबाट सयौं सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।
संस्थाका सञ्चालक समिति सदस्य थापाका अनुसार कर्णाली साकोसको उच्च व्यवस्थापन समितिको आजै बिहान बसेको आकस्मिक बैठकले साकोसका सबै सेवा केन्द्रहरुमा आज कारोबार स्थगन गर्ने र असार २ गते शोक विदा गर्ने निर्णय गरेको छ ।
Comments