Sajhamanch Archive

मेचीनगर नगरपालिकामा विषयगत समितिहरु गठन

Published: in मुख्य समाचार, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो पूर्ण वैठकले विषयगत तथा अन्य समितिहरु गठन गरेको छ । सोमबार नगर कार्यपालिकाको कक्षमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न विषयगत र अन्य समितिहरु गठन गरेको हो ।

वैठकले सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजकमा माया प्याकुरेल, सामाजिक विकास समिति संयोजकमा हृदय राजबंशी र पूर्वाधार विकास समिति संयोजकमा चित्र धिमाललाई जिम्मेवारी दिएको छ । यस्तै, विधेयक समिति संयोजकमा अञ्जु थापा, आर्थिक विकास समिति संयोजकमा तीलजा देवान र वन, वातावरण तथा विपद व्यवस्थापन समिति संयोजकमा गुणराज भट्टराई (राजन)लाई जिम्मेवारी दिने निर्णय गरेको जनाइएको छ ।

त्यस्तै बैठकले राजस्व परामर्श समिति संयोजक उपप्रमुख मीना पोखरेल उप्रेती, स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समिति संयोजक नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, न्यायिक समिति संयोजकमा उपप्रमुख उप्रेती तथा सदस्यहरु कुन्दन निरौला र नरेन्द्र न्यौपाने तथा लेखा समिति संयोजकमा कविता खनाल सार्कीलाई जिम्मेवारी दिएको छ ।

नगर कार्यपालिकाको वैठकले नगरभित्रका अन्य विभिन्न समस्याहरु समाधान गर्ने विषयमा पनि निर्णय गरेको छ । आ.व. २०७८÷७९ का लागि नवौँ नगरसभाले स्वीकृत गरेका अन्य थप योजना, हात्ती नियन्त्रणका लागि टर्च लाइट खरिद, योजना तथा कार्यक्रम सम्झौता सम्बन्धी निर्णय गरेको छ ।

यस्तै, फुटबल प्रतियोगिता, अन्तर्राष्ट्रिय वातावरण दिवसको कार्यक्रम, नगर सरसफाई व्यवस्थापन, आय ठेक्का, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगतका २ र ४ कोठे भवनको ड्रईङ डिजाइन परिवर्तन र नगरमा कृषि मण्डी निर्माणको लागि नीतिगत निर्णय पनि स्वीकृत गरेको छ ।

यस्तै आ.व. २०७९÷०८० को वार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमा लगायतका विषयमा छलफल गरेर निर्णय गरिएको नगरप्रमुख बुढाथोकीले जानकारी दिए । नगर कार्यपालिकाका ८ जना सदस्यबाहेक नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुको पहिलो बैठकले सन्थाल बस्तीका २५ परिवारलाई घर निर्माण लगायतका ९ बुँदे निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *