बिर्तामोड नगरलाई २० वर्षमा कस्तो बनाउने सम्बन्धी गोष्ठी
Published:
by .बिर्तामोड । बिर्तामोडमा आवधिक नगरपालिका विकास योजना दीर्घकालिन सोच निर्माण तथा योजना प्राथमिकीकरण सम्बन्धी कार्यशाला गोष्ठी सुरु भएको छ ।
बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि सुरुभएको गोष्ठी तीन दिनसम्म चल्नेछ । गोष्ठीमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा कर्मचारीहरुको सहभागिता छ ।
गोष्ठी उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले यो गोष्ठीमा बिर्तामोड नगरपालिकालाई अबको २० वर्षमा कस्तो बनाउने भन्ने विषयमा छलफल गरी योजना तयार पार्ने बताउनु भयो । ‘आवधिक योजना निर्माण गर्दा आगामी आर्थिक वर्षदेखि पहिलो ५ वर्षसम्मका लागि खाका तयार गरिनेछ’ नगरप्रमुख प्रसाईंले भनिन्, ‘यस्तै १० वर्षे, १५ वर्षे र २० वर्षे दीर्घकालिन योजना निर्माण गर्न चालू गोष्ठी सफल हुनेछ ।’
उनले स्वास्थ्य, शिक्षा, कृषि, सामाजिक, भौतिक पूर्वाधार, वैज्ञानिक कर प्रणाली, वन तथा वातावरणको संरक्षण, फोहोर व्यवस्थापन, स्रोत परिचालन लगायतका विषयमा आवधिक योजना निर्माण गरिने बताइन् । नगरप्रमुख प्रसाईले विज्ञहरुले दिएको महत्वपूर्ण विषयवस्तु र सुझावलाई ग्रहण गर्दै गोष्ठीमा ध्यान दिन जनप्रतिनिधि तथा कर्मचारीहरुलाई निर्देशन दिइन् ।
सो गोष्ठीमा आफ्ना धारणा राख्दै उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बिर्तामोडको समृद्धि र विकाससँग जोडिएका विषयमा छलफल गरी योजना तयार गरिने प्रष्ट्याए । उनले बिर्तामोडलाई भ्रष्टाचार रहित नगरका रुपमा परिचित गराउने दावी गर्दै आफू भ्रष्टाचार विरोधी भएकोले आफू पनि नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने प्रतिवद्धता गरेका छन् ।
गोष्ठी उद्घाटन कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगरकमिटीका अध्यक्ष सुवास भट्टराई, राप्रपाका नगर अध्यक्ष रञ्जु प्याकुरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष श्रीप्रसाद सिटौलासहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, मौलिक जरोकिलो लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।
बिर्तामोड नेपाल कै महत्व राख्ने आर्थिक, सामाजिक र राजनीतिक रुपमा अग्रणी नगर भएको बताउँदै एमालेका नगर अध्यक्ष भट्टराईले पहाडी जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्री तथा जडबुटीहरु आउने गरेकोले बिर्तामोडलाई भारत, बंगलबादेश, भुटान, पाकिस्तान, चीन लगायतका देशहरुको ट्रान्जिट प्वाइन्ट भएको धारणा राखे । त्यसैले २० वर्षपछिको बिर्तामोड परिकल्पना गरेर गर्व गर्न लायक गुरुयोजना बनाउन जनप्रतिनिधिहरुलाई सुझाव दिए ।
नगरप्रमुख प्रसाईको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमलाई प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले स्वागत तथा वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।
Comments