महालक्ष्मी विकास बैंकको पुस्तक अनारमनी पब्लिक क्याम्पसलाई
Published:
by .बिर्तामोड । महालक्ष्मी विकास बैंक लिमिटेड बिर्तामोड शाखाले झापाको बिर्तामोड वडा नं.३ बिर्ताबजारमा रहेको अनारमनी पब्लिक क्याम्पसलाई पुस्तक सहयोग गरेको छ ।
बैंकको २८औं वार्षिकोत्सवको दिन सो बैंकको बिर्तामोड शाखाले अनारमनी पब्लिक क्याम्पसलाई पुस्तक हस्तान्तरण गरेको हो । बैंकका बिर्तामोड शाखा प्रमुख भरतप्रसाद खतिवडाले दिएको जानकारी अनुसार ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम अन्तरगत पुस्तक हस्तान्तरण गरेको हो । आगामी दिनमा बैंकले अझै प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने शाखा प्रमुख खतिवडाको भनाई छ ।
अनारमनी पब्लिक क्याम्पसमा बीबीएस संकायमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीबीएस संकायका विषयगत पुस्तक प्रदान गरिएको उनले बताए । क्याम्पसमा रहेको पुस्तकालयमा पर्याप्त पुस्तक नरहेको अवस्थामा आफूहरुले प्रदान गरेको पुस्तकले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई पढाईमा थप हौसला र प्रेरणा मिल्ने उनको बुझाई छ ।
बैंकले बीबीएस संकायका लागि उपयोगी ९७ थान पुस्तक प्रदान गरेको र सो को मूल्य ५० हजार बराबर रहेको बैंकका अप्रेसन ईञ्चार्ज वनिता पोखरेलले जानकारी दिइन् ।
अनारमनी पब्लिक क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पोखरेल र क्याम्पस प्रमुख मोहन शिवाकोटीले बैंकको यस कार्यले कलेज परिवार खुसी भएको बताएका छन् ।
Comments