Sajhamanch Archive

आइसिए महासभामा भाग लिन सहकारी अभियन्ताहरु स्पेनतिर

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, समाज, सहकारी by .

झापा । हरेक २–२ वर्षमा हुँदै आएको अन्तर्राष्ट्रिय सहकारी महासंघको महासभामा भाग लिन नेपालबाट दर्जनौं सहकारी अभियन्ताहरु स्पेन गएका छन् ।

स्पेनको सेभिल्लेमा यही जुन २० तारिख (असार ६) देखि महासंघको महासभा आयोजना गरिएको छ । स्पेनिश कन्फेडरेशन अफ वर्कर कोअपरेटिभको आतिथ्यमा सञ्चालन हुने महासभामा भाग लिन नेपालबाट राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा प्रतिनिधिहरु स्पेन गएका हुन् ।

भिन्न भिन्न समयमा आफ्नो अनुकूल मिलाएर महासंघको महासभामा भाग लिन सहकारी अभियन्ताहरु स्पेन गइरहेको पाइएको छ । आज अध्यक्ष कडेलको नेतृत्वमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसिए ग्लोबल बोर्ड मेम्बर ओमदेवी मल्ल, महासंघका सञ्चालक सदस्य तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेती पनि स्पेन गएका छन् ।

महासंघको महासभामा भाग लिन राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्रकुमार गिरी र ध्रुवनारायण यादव, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं र वरिष्ठ अधिकृत मोहन कार्की पनि स्पेन गएका छन् । अध्यक्ष कडेल नेतृत्वको टोलीलाई आज राष्ट्रिय सहकारी महासंघबाट विदाई गरिएको हो ।

महासभाका लागि आइसिएले ‘कोअपरेटिभ्सः द टाइम इज नाव’ भन्ने थिम बनाएको छ । महासभामा सन् २०२१ को प्रतिवेदन माथि छलफल हुनेछ भने महासंघको नयाँ नेतृत्व पनि चयन गरिनेछ । यसअघि सन् २०१७ नोभेम्बरमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न महासभाले आइसिएको नेतृत्व चयन गरेको थियो ।

यो पटक आइसिए अध्यक्षका लागि वर्तमान अध्यक्ष एरियल गुआर्को (अर्जेन्टिना), अष्टेलियाकी मेलिना मोरिसन, फ्रान्सका लुइस बान्सेललगायत उम्मेदवार बनेका छन् । नेपालबाट गएका प्रतिनिधिहरुले पनि इच्छाएको उम्मेदवारलाई मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *