झापा गाउँपालिकामा विपन्नलाई ६०३ आवास हस्तान्तरण
Published:
by .झापा । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत साहारा नेपाल, ह्याविट्याट फर ह्युमानिटी र झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा ६०३ वटा आवास निर्माण भएका छन् ।
सो गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा १३०, २०२१ मा ११३, २०२१ मा ११५ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको छ । तीमध्ये केही सम्पन्न हुन बाँकी रहेका छन् ।
आइतवार झापा गाउँपालिकास्थित कुमरखोदमा आयोजित अन्तरक्रिया कार्यक्रममा टिम लिडर टीकाप्रसाद कँडेलले घर निर्माण सम्बन्धी तथ्याङ्कको बिवरण प्रस्तुत गरेका हुन् ।
सुरक्षित आवासका लागि पालिका स्तरीय परियोजना, सल्लाहकार समितिको समन्वयमा भएको अन्तरक्रिया कार्यक्रममा सुरक्षित आवास कार्यक्रमका टिमलिडर कडेलले विपन्न वर्गका लागि सुरक्षित, बलियो र पर्याप्त आवास निर्माण गर्ने सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाको उद्देश्य रहेको जनाए ।
परियोजनाले गरिबीको रेखामुनी रहेका अति विपन्न, गरीब, घरविहीन, सुकुम्बासी, पिछडिएका, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका ब्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गर्दै आएको जनाइएको छ । कार्यक्रममा त्रिपक्षीय साझेदारीमा बनेका सुरक्षित आवासका बारेमा जानकारी दिइएको थियो ।
गाउँपालिका अध्यक्ष जयनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा साहारा नेपालका संरक्षक डिल्लीराम सिटौला, ह्याविट्याट फर ह्युमानिटीका सिनियर अप्रेशन मेनेजर रामसिंह दनुवारलगायतले आ–आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा ह्याविट्याट नेपालका सिनियर अप्रेशन मेनेजर दनुवारले ह्याविट्याट नेपालले विपन्न आवास निर्माण गर्दा नयाँ–नयाँ कार्यक्रम लिएर आएको बताए । अहिले आवाससँगै शौचालयसमेत निर्माण गर्ने अभियान लिएको बताउँदै अझै नयाँ केही गर्ने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर १ र ७ वडाध्यक्ष राजकुमार यादव र सखीचन्द्र ठाकुरले आफ्नो वडामा धेरै विपन्न मानिसहरुको बसोबास रहेकाले आवास निर्माणमा सहकार्य निरन्तर हुनुपर्ने बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष साहले विपन्नको आवास निर्माणमा संस्थाहरुको सहयोगको प्रशंसा गरे । गाउँपालिकाले नेपाल सरकारसँग पहल गरेर एउटा आवास निर्माण गर्नका लागि सशर्त अनुदानसमेत प्राप्त गरेको अध्यक्ष साहाले जानकारी दिए ।
सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा काम गर्दै आएको सहारा नेपालका लेखा अधिकृत राजु गिरीले बताए । उनले झापा, मोरङ, सुनसरी र उदयपुरमा साझेदारीमा परियोजनाले आवास निर्माण गर्दै गरेको बताए ।
Comments