हल्दिबारीमा महिला अधिकार र विद्यमान कानून सम्बन्धी कार्याशाला
Published:
by .हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिकामा महिला अधिकार र विद्यमान कानून सम्बन्धी दुई दिने कार्यशाला शुरु भएको छ । टाइम्स मिडिया नेटवर्क बिर्तामोडको आयोजना र हल्दिबारी गाउँपालिकाको सहयोगमा महिलाहरुलाई कानूनी अधिकारका बारेमा जानकारी दिन कार्यशाला आयोजना गरिएको हो ।
हल्दिबारी गाउँपालिकाको ५ वटै वडाबाट महिला जनप्रतिनिधि, अगुवा महिलाहरु र विद्यार्थीको सहभागितामा कार्यशाला शुरु भएको हो । पहिलो दिन आज वडा नं. १ र २ को सहभागिता रहेको थियो भने बाँकी वडाहरुबाट मंगलबार सहभागिता हुनेछ ।
कार्यशालाको पहिलो दिन अधिवक्ता हेमकला कट्टेलले सहजीकरण गरेकी थिइन् । मंगलबारको सहजीकरण मोरङकी अधिवक्ता विष्णुकुमारी तामाङले गर्ने कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए ।
टाइम्स मिडियाका अध्यक्ष नारायणप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यशाला उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत प्रविण दाहाल, कार्यपालिका सदस्य शान्ता शिवाकोटीले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा आशिका मावो र अनुष्का शिवाले कार्यक्रममा प्रतिवेदन पेश गरेका थिए । सहजकर्ता अधिवक्ता कट्टेलले सहभागीहरुलाई समूहमा विभागन गरेर महिलाका सवालमा छलफल चलाएकी थिइन् । छलफलमा महिला अधिकारको आवश्यकता बारे चर्चा गरिएको थियो ।
Comments