Sajhamanch Archive

बिर्तामोडमा सहकारी नीति तथा योजना सम्बन्धी अन्तरसम्वाद सम्पन्न

Published: in मुख्य समाचार, सहकारी, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सहकारी नीति तथा योजना सम्बन्धी आज अन्तरसम्वाद गरेको छ । सहकारी तथा सामाजिक विकास शाखाको आयोजनामा यमुना आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

अन्तरसम्वादमा बिर्तामोड नगरपालिकालाई मात्र कार्यक्षेत्र बनाएका तथा प्रदेशभर कार्यक्षेत्र रहेर पनि मुख्य कार्यालय बिर्तामोड रहेका संस्थाबाट प्रतिनिधित्व गराइएको थियो ।

अन्तरसम्वाद कार्यक्रममा नगरपालिका अन्तरगत सहकारी तथा सामाजिक विकास शाखाका अधिकृत डिल्ली दाहालले अवधारणपत्र प्रस्तुत गर्दै नगरपालिका मातहत सहकारीको संख्या, वित्तीय कारोबार झलक, कोरोना महामारीमा सहकारीले पुर्याएको योगदान, सहकारी संस्था दर्ता र एकीकरण सम्बन्धी विवरणहरु प्रस्तुत गरेका थिए ।

अधिकृत दाहालको कार्यपत्रमा सहकारी अभियानको प्रवद्र्धनका लागि हालसम्म बिर्तामोड नगरपालिकाले गरेको प्रयासहरु, सहकारी अभियानका चुनौतिहरु र सहकारी संस्थाहरु नियामक निकायप्रति अनुत्तरदायी बन्दा उत्पन्न भएका समस्याहरुलाई बुँदागतरुपमा उल्लेख गरिएको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, जिल्ला बचत संघका सचिव यामकुमार चुँडालको आतिथ्यमा सम्पन्न अन्तरसम्वादमा सहभागीहरुलाई आफ्ना धारणा राख्न दिइएको थियो ।

सो कार्यक्रममा शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले स्थानीय सरकार सञ्चालन ऐनमा सहकारीले विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था छ, सहकारी ऐनमा पनि उल्लेख छ तर संघीय शिक्षा ऐन किन बाधक बनिरहेको हो ? स्थानीय सरकारले नै ऐन वा नीति बनाएर सहकारी विद्यालय सञ्चालन गर्न पाउने कि नपाउने भनी प्रश्न गरे ।

न्यौपानेको प्रश्नमा सही थप्दै सहारा नेपालका कोषाध्यक्ष डम्बरबहादुर देउजाले आफूहरुले पनि विद्यालय सञ्चालनमा ल्याइसकेको तर विद्यार्थी बोक्ने गाडी किनेको रकम सहकारीबाट खर्च लेख्न हुँदैन, सञ्चालकहरुले ब्यहोर्नु पर्छ भनी संघीय विभागले दिएको दबावलाई के यो जायज हो ? भनी जिज्ञासा राखेका थिए ।

यस्तै कर्णाली साकोसका सचिव भूपाल बस्नेतले स्थानीयदेखि संघसम्म तीनवटै तहका सरकारले नीति र ऐन बनाउँदा तीनखम्बे अर्थनीति कार्यान्वयन हुने गरी बनाउन सुझाव दिए । एउटा तहको सरकारले विद्यालय, अस्पताल, पसल खोल्न अनुमति दिन्छ, माथिल्लो तहको नियामक आएर हातखुट्टा बाँधेर ल त हिंड भन्दै छाडिदिन्छ । यस्तोमा सहकारी कसरी अगाडि बढ्छ ? उनले पनि प्रश्न थपेका थिए ।

अनन्त बचत तथा ऋण सहककारी संस्थाका अध्यक्ष गोकुलप्रसाद अधिकारीले साख सूचना केन्द्र स्थापनाका लागि के प्रयास भइरहेको छ र निस्क्रिय भनिएका सहकारी संस्थाहरुलाई सक्रिया बनाउन वा खारेज गर्न नगरपालिकाको प्रयासबारे जिज्ञासा राखे ।

यसैगरी नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुष्मा पौडेलले सहकारीबाट कर्जा प्रवाह गर्दा धितो लिन नपाइने भनिएको छ । तर लगानी गरिएको कर्जा उठाउन धौधौ भयो, के गर्न सकिन्छ भनेर सुझाव मागेकी थिइन् ।

नगरपालिकाका अधिकृत मेघराज बाँस्तोलाले सञ्चालन गरेको कार्यक्रममा सहकारीकर्मीका प्रश्नहरु सुनिसकेपछि अवधारणापत्र प्रस्तोता सहकारी अधिकृत दाहालले त्यसको निरुपण प्रयास गरेका थिए । सो पछि मन्तब्य राख्दै जिल्ला संघका अध्यक्ष ढकालले सहकारीकर्मी र स्थानीय सरकार एउटै डुंगाका यात्री भएकाले एकापसमा परिपुरक भएर अघिजानुपर्ने आवश्यकता औंल्याए । सहकारी नगर समन्वय समितिको आवश्यकतालाई नगरपालिकाले बोध गरिसकेकाले छिट्टै गठन गर्न सुझाव दिए ।

सहकारीमा भइरहेको तरलता अभावलाई न्यूनीकरण गर्न नगरपालिकाले किसानहरुलाई प्रदान गर्ने अनुदान रकम सहकारीमार्फत् प्रदान गर्न, सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत् वितरण गर्न सकिन्छ भने केही राहत हुने विचार राखे ।

अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा बिर्तामोड नगरपालिकाद्वारा आयोजित सहकारी संस्थाहरु बीचको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सहकारी संघ–संस्थाहरु सञ्चालनका लागि आवश्यक पर्ने नीति विधिहरुलाई नगरपालिकाले सहजीकरण गर्दै सहकारी अभियान प्रवर्धनमा भूमिका खेल्ने विश्वास दिलाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *