Sajhamanch Archive

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिकोत्सव बिर्तामोडमा 

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

झापा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिकोत्सव इलाका स्तरीय कार्यक्रमको आयोजना गरी बुधबार मनाइएको छ ।

झापा, इलाम र पाँचथरका ६१ वटा साना किसान कृषि सहकारीका प्रतिनिधिहरुको सहभागितामा झापाको बिर्तामोडमा वार्षिकोत्सव सम्पन्न भएको हो । संस्थाका इलाका प्रवन्धक सुभाष गौतमको अध्यक्षतामा आयोजित समारोहमा उनले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको विगत र वर्तमान समेटिएको चिनारी प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा टाघनडुब्बा सामुदायिक साना किसान कृषि सहकारी संस्थालाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार ग्रहण गर्न संस्थाका अध्यक्षसहित पदाधिकारीहरु तथा कर्मचारीहरुको सहभागिता थियो ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष एवम् महारानीझोडा कृषि सहकारी संस्थाका अध्यक्ष मीनाकुमारी ढकाल, संस्थाका इलाका प्रवन्धक सुभाष गौतमलगायतले उक्त पुरस्कार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मन्तब्य राख्दै झापा जिल्ला सहकारी संघका अध्यक्ष ढकालले आयात प्रतिस्थापनका लागि नेपाली उत्पादनहरु बजारमा पुर्याएर बजार हस्तक्षेप गर्न अनिवार्य भइसकेको बताए । कुनै सहकारी संस्थालाई राज्यका एक मन्त्रीले सरकारले तोकेको मूल्यमा वस्तु खरिद गर्न लगाएर लाखौंको घाटा गराएको प्रसंग कोट्याउँदै ढकालले अब करार खेतीतर्फ अग्रसर बन्न सकियो भने सबैलाई सहज हुने पनि सुझाव दिए ।

अर्का वक्ता इलामको रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले सबै नागरिकले वित्तीय साक्षरता नबुझेकाले अहिले तरलता अभाव भइरहेको जिकिर गरे । अधिकांश नेपालीको दराजमा लाखौं रुपैयाँ थन्किएको वर्तमान अवस्थालाई ध्यान दिएर बैंकिङ प्रणालीमा लैजान अनिवार्य व्यवस्था गर्न पनि वित्तीय साक्षरता आवश्यक रहेको उनको भनाई छ ।

मानिसहरुमा नकारात्मक सोचको विकास तीब्र गतिमा भइरहेकाले यसको निराकरणका लागि योग, ध्यान अनिवार्य बनिसकेको महसुस गरी आगामी आर्थिक वर्षका लागि रोङ गाउँपालिकामा बजेट नै व्यवस्था गरिएको अध्यक्ष स्याङ्बोले सुनाए । विद्यार्थी, शिक्षक, व्यवसायी लक्षित योग ध्यान शिविरबाट सकारात्मकतातर्फ उन्मुख गराउने उनले बताए ।

यस्तै, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष एवम् महारानीझोडा कृषि सहकारी संस्थाका अध्यक्ष मीनाकुमारी ढकालले वित्तीय संस्थाले किसानलाई कर्जा प्रवाह गर्दा गरिरहेको सहयोगको खुलेरै प्रशंशा गरिन् । सरकारले अन्न र तरकारी भारतबाट आउन रोकिदिने हो भने नेपालीहरु आफ्नो बारी बगैंचामा पसेर आफूलाई चाहिने वस्तु उत्पादन गर्ने अपेक्षा पनि सुनाइन् ।

वित्तीय संस्थाका अधिकृत दोर्णराज घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा सहभागी तथा आमन्त्रित अतिथिहरुलाई वित्तीय संस्थाका अर्का अधिकृत खगेन्द्रप्रसाद आचार्यले शाब्दिक स्वागत गरेका थिए ।

वार्षिकोत्सव समारोहमा पुरस्कृत संस्थाका अध्यक्ष, कार्यसम्पादन सल्लाहकार समूहका संयोजक केशव सापकोटा, जिल्ला कृषि सहकारी संघका कोषाध्यक्ष भुपराज लुइटेल, संस्थाको ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत इजरायल पुगेर कृषि प्रशिक्षण लिएर फर्केका चन्द्र बस्नेत, कर्मचारी मिलन केन्द्रका अध्यक्ष पोषककुमार दर्जीले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *