Sajhamanch Archive

खानेपानीको चुनावः दलीय भागबण्डामा उम्मेदवारीको तयारी, निर्वाचन समितिको राजीनामा

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by .

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नेतृत्व चयनका लागि गठित निर्वाचन समितिले राजीनामा दिएको छ ।

केही दलहरुले दलीय सहमतिका आधारमा नेतृत्व चयन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेका थिए । तर उक्त कुराको सुइँको पाएका संघीय लोकतान्त्रिक मञ्च लिम्बुवान, समाजवादी पार्टी, मंगोल नेशनल अर्गनाइजेसन आदि दलले निर्वाचन कार्यक्रम रोक्न निवेदन दिएका थिए । ती दलहरुले आफूहरुलाई जानकारी नै नदिई केही दलले मिलेमतोमा निर्वाचन कार्यक्रम अघि बढाएको भन्दै त्यसको विरोधमा उम्मेदवारी मनोनयन नगरी निर्वाचन विरुद्धमा उत्रिएका हुन् ।

यता दलीय भागबण्डामा अध्यक्ष पद नेपाली काँग्रेसलाई, उपाध्यक्ष र सचिव नेकपा एमालेलाई र कोषाध्यक्ष माओवादीलाई दिने भनी तीन दलले निर्णय गरेका थिए । तर दलको निर्णय विपरित चन्द्रप्रकाश कोइरालाले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि काँग्रेस पनि रुष्ट भएको थियो ।

यी सबै भद्रगोल व्यहोरिरहेको निर्वाचन समितिलाई दलहरुले निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा ठोस मार्ग नदिएको भन्दै राजीनामा गरेका छन् । निर्वाचन समितिका संयोजक वसन्त नेपालले राजनीतिक दलहरुले निर्माण गरेको चक्रब्युहमा फस्न लागेको थाहा पाएर आफूहरुले राजीनामा दिएको बताए ।

साना सहरी खानेपानी संस्थाका व्यवस्थापक पुष्प न्यौपानेले पनि निर्वाचन समितिले राजीनामा दिएको पुष्टि गरेका छन् । उनले राजीनामा पत्र प्राप्त भएको जनाउँदै शनिबार र आइतबार सार्वजनिक बिदा परेकोले सो निवेदन उपर सोमबार सुनवाई हुने बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *