मनकामनाका विद्यार्थीले बनाइदिए अर्जुनधाराकी बविता पाँचकोटीको घर
Published:
by .अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित एकजना विपन्न परिवारको घर निर्माणमा मनकामना कलेज बिर्तामोडका विद्यार्थीहरुले योगदान गरेका छन् ।
सो कलेजमा सामाजिक कार्य विभाग (बिएसडब्लु)मा अध्ययनरत विद्यार्थीहरुको अग्रसरतामा वविता पाँचकोटीको निर्माणाधिन घर बस्नयोग्य बनाइएको हो । निर्माणकार्य थालिएको, पिल्लर र बेसलेभल उठाइएको घरको संरचनामा जस्तापाता लगाउने, घेराबारा गर्ने र बस्नयोग्य घर विद्यार्थीले बनाइदिएका विभागीय प्रमुख नविना सापकोटाले बताइन् ।
विद्यार्थीहरुले सहयोगी मनहरुबाट चन्दा संकलन गरेर तथा कलेजको तर्फबाट पनि रकम थप गरी जस्तापाता लगायत आवश्यक निर्माण सामग्रीहरु जुटाएर आवास निर्माण सम्पन्न गरिएको सापकोटाको भनाई छ । निर्माण ठेकदारसँग समन्वय गरेर आवास निर्माण गरी हस्तान्तरण गरिएको उनको भनाई छ ।
आज मंगलबार प्रदेश सांसद बिर्खबहादुर प्रधानको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममाझ वविता पाँचकोटीलाई घर हस्तान्तरण गरिएको हो । सो अवसरमा सांसद प्रधानले गरिबीको रेखामुनि रहेको समुदायको उत्थानमा मनकामनाका विद्यार्थीहरुको सत्प्रयासप्रति सराहना ब्यक्त गरे ।
यस्तै वडा नं. ५ का वडाध्यक्ष गीताराज खड्काले समाजसेवी गफले हुने नभई काम गरेपछि भइने हो भन्दै मनकामनाका विद्यार्थीले अग्रसरता नदेखाएको भए यो घर अझै कति दिनसम्म बन्ने थिएन भनी विद्यार्थीहरुको प्रशंसाा गरे । राज्य संयन्त्र गतिलो नहुँदा यस्ता विपन्नले सर्धैं दुःख पाइरहनु परेको उनको भनाई थियो ।
मनकामना कलेज, सामाजिक कार्य विभागका प्रमुख नविना सापकोटाको अध्यक्षतामा सम्पन्न घर हस्तान्तरण कार्यक्रममा विद्यार्थी सन्देश सुवेदीले आफूहरुले सम्पादन गरेको घर निर्माण कार्यका बारेमा अवगत गराएका थिए भने अर्का विद्यार्थी आभाष पुरीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
Comments