Sajhamanch Archive

शिक्षक कर्मचारीलाई बिर्तामोडमा सम्मान र पुरस्कार हस्तान्तरण

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सेवा निवृत शिक्षक, कर्मचारी तथा उत्कृष्ट शिक्षकलाई आज रकमसहित पुरस्कार र सम्मान गरेको छ ।

नगरपालिकाको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी नगरपालिकाले शिक्षक कर्मचारी सम्मान र पुरस्कार प्रदान गरेको हो । उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक शेरबहादुर श्रेष्ठ, साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका आधारभूत तहका शिक्षक श्यामप्रसाद दाहाल र लक्ष्मीनारायण प्राविका शिक्षक जनकबहादुर थापालाई पुरस्कृत गरिएको हो ।

जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्दै तीनै जनालाई नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र कार्यपालिका सदस्य यामुना आचार्यसहितले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

उत्कृष्ट शिक्षकका रुपमा आवेदन भर्ने माध्यमिक तहका ३ जना, आधारभूत तहका ३ जना र प्रावि तहका ६ जना शिक्षक मध्येबाट उत्कृष्ट ३ जना छनोट गरिएको शिक्षा शाखाले जनाएको छ । उत्कृष्ट शिक्षक छनोट मूल्याङ्कन समितिमा उमानाथ ओली, युवराज पाण्डे र इन्द्र मुखिया रहेका थिए ।

यस्तै २०७६ साल भदौ २३ गते यता सेवा निवृत भएका २२ जना शिक्षकलाई पनि आजै दोसल्ला ओढाएर सम्मान गरिएको छ । सोही कार्यक्रममा कक्षा १ र २ को आचरण सचेतना शिक्षा पाठ्यपुस्तकको पनि विमोचन गरियो ।

उक्त पुस्तकको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले विमोचन गर्नु भयो । बिर्तामोड नगरपालिकाले यसअघि कक्षा ३ देखि ८ सम्म अनिवार्यरुपमा आचरण सचेतना शिक्षा लागू गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *