सहारा नेपाल र बिर्तामोड नगरपालिका साझेदारीमा कृषकलाई ५० वटा स्यालो ट्युबवेल
Published:
by .बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड नगरपालिकाको साझेदारीमा यहाँका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेल जडानका लागि रकम हस्तान्तरण गरिएको छ ।
साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ जना, वडा नम्बर ८ का ६ जना, वडा नम्बर ९ का १५ जना र वडा नम्बर १० का ११ जनाले रकम पाएका हुन् ।
आज शनिबार सहारा नेपाल साकोसको मुख्य कार्यालयमा रहेको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी कृषकहरुलाई ४० हजार रुपैयाँका दरले चेक हस्तान्तरण गरिएको हो । बिर्तामोड नगरपालिका र सहारा नेपालको साझेदारीमा विगत ३ वर्षदेखि विभिन्न क्षेत्रमा अनुदान वितरण हुँदै आएको छ ।
कार्यक्रममा बोल्दै सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसँग विपन्न आवास, कृषि, पशुपन्छी र शिक्षाको क्षेत्रमा साझेदारीका कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताए । यस प्रकारको कार्यक्रमबाट कृृषकको जीवनस्तर उकास्न, विद्यालय सुधार गर्न र गरिव विपन्न परिवार बस्ने राम्रो वातावरण निर्माण गर्नका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको उनको धारणा थियो ।
सहारा नेपाल साकोसका प्रथम उपाध्यक्ष छवीलाल खतिवडाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले सहारा नेपालसँगको साझेदारीमा ३ वर्षमा १५० वटा स्यालो ट्युबवेल वितरण गरिएको जानकारी दिए ।
५ वर्षको अवधिका बिर्तामोड नगरपालिकाले ६३७ वटा स्यालो ट्युबवेल वितरण गरेको बताउँदै कृषि शाखा प्रमुख कडरियाले चालू आर्थिक वर्षमा मात्रै नगरपालिकाबाट ६७ वटा र सहारा नेपालसँगको साझेदारीमा ५० वटा ट्युबवेल वितरण गरिएको तथ्याङ्क सुनाए । वितरण गरिएका स्यालो ट्युबवेलबाट करिब २ हजार विगाहा जमिनमा सिँचाई पुगेको जनाइएको छ ।
Comments